तपाईँ सुन्दै हुनुहुन्छः

जनतालाई केन्द्रमा राखेर कार्यसम्पादन गर्न मुख्यमन्त्री कार्कीको निर्देशन

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनतालाई केन्द्रमा राखेर कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार विभिन्न मन्त्रालयका सचिव तथा कर्मचारीहरूसँगको छलफलमा उहाँले राष्ट्रसेवक कर्मचारीले काम गर्दा आफैँलाई सन्तुष्टि मिलेको छ कि छैन भन्ने विषय आत्मसात् गर्नुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले भन्नुभयो, “अब स्थायी सरकार बनेको छ । तपाईँहरू ढुक्क भए काम गर्नुहोस् । मन्त्री आउने जाने भइरहन्छ तर कर्मचारी मन्त्रीको होइन जनताका भएकाले उच्च मनोबलका साथ काम गर्नुस् ।” कर्मचारी तनमनले जनताको काममा लाग्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “सुशासन जनताका इच्छा भएकाले यसमा कसैसँग पनि सम्झौता गर्न सकिँदैन । जनतालाई शासन होइन सेवा दिन राष्ट्रसेवक कर्मचारीले तनमनले काम गर्नुपर्छ ।” उहाँले बजेट बनाउँदा खुद्राभन्दा पनि प्रदेशस्तरको काम गर्ने गरी तयार गरिनुपर्नेमा जोड दिनुभयो ।

छलफलमा सहभागी विभिन्न मन्त्रालयका सचिवले सम्बन्धित मन्त्रालयबाट हुँदै आएका काम र समस्याबारे मुख्यमन्त्रीलाई जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button