तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति पौडेलद्वारा काठमाडौँ विश्वविद्यालयमा नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर उद्घाटन

काभ्रेपलान्चोक । काभ्रेको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालयमा निर्माण भएको नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरको भवन उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले शुभारम्भ गर्नुभएको छ । 

नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर भवनको उद्घाटन पछि आयोजित कार्यक्रममा बोल्दै  राष्ट्रपति रामचन्द्र पौडेलले आजको युग विज्ञान–प्रविधि, नवप्रवर्तन र उद्यमशीलताको भएको बताउनुभयो  । 

भविष्यको पुस्तालाई व्यापक र द्रुत आयाममा प्रविधिमय हुँदै गएको विश्वसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउनुको विकल्प हामीसँग छैन’–राष्ट्रपति पौडेलले भन्नुभयो–‘मानव मस्तिष्कको क्षमताले व्यवस्थित गर्न सक्नेभन्दा छिटो गतिमा विश्वमा परिरहेको जलवायु परिवर्तन, भूमण्डलीकरण र कृत्रिम विद्वताले मानव सभ्यताका सामु खडा गरेका चुनौतीलाई पनि पार लगाउँदै अगाडि बढ्नु पर्ने छ । मानवता मैत्री, दिगो र न्यायपूर्ण विकासकालागि खोज, अनुसन्धान, नवप्रवर्तन र प्रविधिका परिपूरक सहकार्यका अतिरिक्त वातावरण र मानवतासँग अन्योन्याश्रित सहसम्बन्ध हुनु अपरिहार्य छ । नेपालकै प्रविधि र नवप्रवर्तनका लागि नमूना आधुनिक केन्द्रका रुपमा स्थापित यस केन्द्रले यी सबै पक्षमा महत्वपूर्ण योगदान गर्नेछ ।’

यस्तै, भवनबाट अनुसन्धान तथा नवीन प्रविधिको सुरुवात भएको महसुस भएको राष्ट्रपति पौडेलले बताउनुभयो । नेपालको प्राज्ञिक वातावरणमा प्रतिष्ठापूर्ण साख स्थापित गरेको काठमाडौँ विश्वविद्यालयको मातहत र व्यवस्थापनमा यो केन्द्र रहनुले यसले निरन्तर र फलदायी सञ्चालनको आधार पाएको अनुभूति भएको राष्ट्रपति पौडेलले बताउनुभयो । यसको लाभ समग्र मुलुकले पाउने अपेक्षा उहाँले गर्नुभयो । केन्द्रमा स्थापित कृषि, स्वास्थ्य र ऊर्जा सम्वद्ध तीनवटै विशिष्टीकृत खोज–अनुसन्धान इकाईहरूले प्राज्ञिक प्रकृतिका अनुसन्धान कृति र आलेखहरू प्रकाशित गर्नुका अतिरिक्त समाज र राष्ट्रलाई प्रत्यक्ष उपयोगी हुने सीप, ज्ञान र दक्षता विकासमा पनि उत्तिकै योगदान गर्नेछ ।

मित्रराष्ट्र कोरिया र यसको विकास सहायता प्रदान गर्ने निकाय ‘कोइका’ले नेपालको आर्थिक–सामाजिक विकासमा निरन्तर महत्वपूर्ण योगदान गरेको छ । कोरिया आफैँ द्रुतगतिमा आर्थिक–सामाजिक विकासको उपल्लो उचाई हासिल गर्ने थोरै उदाहरणीय मुलुकहरूमध्ये एक हो । आफ्नो संस्कृतिलाई अक्षुण्ण राखेर आधुनिक विकासमा फड्को मार्ने त्यहाँको अनुभवबाट नेपालले सिक्ने धेरै कुरा रहेको राष्ट्रपति पौडेलले बताउनुभयो ।

त्यस्तै, उपकुलपति डा. भोला थापाले कोरिया सरकारको तर्फबाट निर्माण सहयोग भएको उक्त भवनबाट मुलुकलाई आवश्यक पर्ने इनोभेसन गरिने बताउनुभयो । कोरिया सरकारको लगानीमा सञ्चालित उक्त परियोजनाले अत्याधुनिक प्रविधिमा सबल पहुँचद्वारा समृद्धि बाँडफाँड गर्ने प्रतिबद्धता डा. थापाले बताउनुभयो  । 

कार्यक्रममा रजिस्ट्रार अच्युत वाग्ले, नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क टि योङ, कोईकाका प्रतिनिधि, प्राध्यापकहरू लगायतले उक्त भवनबाट उपलब्धी हासिल गर्नु पर्ने बताउनुभयो  । नेपालको विद्वत्वर्ग, कूटनीतिज्ञहरू, नीति निर्माता र खोज–अनुसन्धानदाताहरू समेत सहभागी भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button