तपाईँ सुन्दै हुनुहुन्छः

विद्यालय बन्द गरे कारबाही गर्ने गौंमुल गाउँपालिकाको चेतावनी

बाजुरा । बाजुराको गौमुल गाउँपालिकाले विद्यालय बन्द नगर्न निर्देशन दिएको छ । संघीय संसदमा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक विद्यालय शिक्षा ऐन २०८० को सन्दर्भलाई लिएर शिक्षकहरू विद्यालय बन्द गरेर आन्दोलनमा केन्द्रित हुन थालेपछि गाउँपालिकाले नियमित पठनपाठन गर्न शिक्षकलाई निर्देशन दिएको हो ।

शिक्षकहरूले विद्यार्थीको नियमित पठनपाठनमा प्रत्यक्ष बाधा पर्ने गरी विद्यालय बन्द गर्नु राम्रो नभएको भन्दै गाउँपालिका भित्रका सबै विद्यालयलाई नियमित पठनपाठन गर्न निर्देशन दिएको उपाध्यक्ष सीता थापाले बताउनु भयो । आज बिहीबार गाउँपालिकाले एक प्रेस विज्ञप्ति निकालेर शान्तिपूर्ण आन्दोलन गर्ने र आफ्ना मागहरू सम्बन्धित निकायमा राख्न अधिकार सबैको भएकाले आफ्नो अधिकार खोज्दा अरूको अधिकारको हनहन भएको छ की छैन भन्ने कुरा ख्याल गर्न आवश्यक रहेको विज्ञप्तिमा भनिएको छ ।

विद्यालयमा अध्ययनरत बालबालिकाको शिक्षण सिकाई नियमित गरी सिकाइ उपलब्धिमा सुधार ल्याउन शिक्षकको दायित्व हुनुपर्नेमा झन बालबालिकाको सिकाइमा अवरोध ल्याउने खालको वातावरण सिर्जन गर्नु अथवा विद्यालय बन्द नै गर्नु स्वीकार्य नहुने उपाध्यक्ष थापा द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ। 

गाउँपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतलाई विद्यालय बन्द हुने दिन बाहेक विद्यालयमा नियमित पठनपाठन गर्न गाउँपालिकाले विज्ञप्ति मार्फत भनेको छ । 

विद्यालय कर्मचारीहरूमा गरेको उक्त निर्देशनको अवज्ञा गरी कानुन विपरीत विद्यालयमा पठनपाठन अवरोध गरेको पाइएमा  गाउँपालिकाले प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको छ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button