तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा लगाइएको धानबालीमा गबारो कीराको प्रकोप 

बाँके । बाँकेका विभिन्न ठाउँमा लगाइएको धान बालीमा गबारो किराको प्रकोप देखिएको छ । गबारो कीराका कारण धान खेतमै सुक्न थालेपछि किसान चिन्तित भएका छन् ।

केही दिनयता बाँकेका सबै पालिकामा गबारो कीराको प्रकोप तीव्र रूपमा फैलिएको छ । पसाउन लागेको धानबाली गबारो कीराले नष्ट गरेपछि किसानहरू निराश भएका छन् । गबारो कीराले धानलाई काटिदिएपछि धान खेतमै मर्न थालिसकेको छ । जिल्लाका बैजनाथ गाउँपालिका र कोहलपुर गाउँपालिकामा करिब ३५ प्रतिशत धान खेतीमा गबारो कीराको प्रकोप देखिएको जानकारी आएको कृषि ज्ञान केन्द्र नेपालगञ्जले जनाएको छ ।

कृषि ज्ञान केन्द्र नेपालगञ्जका कृषि विज्ञ जीवन कुमार केसीले गबारो कीराको प्रकोपले राप्तिसोनारी बैजनाथ र कोहलपुर सबैभन्दा बढी प्रभावित भएको जनाउँदै अन्य गाउँपालिकामा पनि प्रकोप देखिन थालेको बताउनु भएको छ । उहाँले कोहलपुर र बैजनाथमा सो किराले २० प्रतिशतभन्दा बढी धान खेती सखाप पारिसकेको र कीराको प्रकोप बढ्दै गएको बताउनुभयो ।

बैजनाथ गाउँपालिका–३ का किसान अनिल थारुले राम्रोसँग हुर्किरहेको धानबाली अहिले गबारो कीराका कारण मर्न थालेको दुखेसो व्यक्त गर्नुभएको छ । १५ कट्ठा खेतमा लगाएको धान राम्रोसँग हुर्किरहेको बेला गबारो कीरा लागेर खेतमै धान सुक्न थालेपछि भोकमरीको चिन्ताले सताउन थालेको बताउनुभयो।

सोही प्रकारको दुखेसो कोहलपुर–६ का किसान सुरेश चौधरीको पनि छ । उहाँले निकै दुःख गरेर २५ कट्ठामा लगाएको धानमध्ये २० प्रतिशतमा कीराले नोक्सान पुर्‍याइसकेको बताउनुभयो ।

कृषि ज्ञान केन्द्र नेपालगञ्जले किसानलाई कुन औषधि प्रयोग गर्ने भन्ने जानकारी समेत नभएको जनाउँदै गबारो कीरा देखिएका ठाउँ लगायत अन्य क्षेत्रमा कृषि प्राविधिकहरू पठाएर नियन्त्रण प्रयास गरिरहेको जनाएको छ ।कृषि ज्ञान केन्द्रका कृषि विज्ञ केसीले भने, “कीराको प्रकोप देखिए पनि हामीले सल्लाह सुझाव बाहेक अन्य केही सहयोग गर्न सकेका छैनौँ । किसानहरुले आफैँ औषधि खरिद गरेर प्रयोग गरिरहनुभएको छ ।

”गबारो धानमा लाग्ने एक प्रमुख शत्रुजीव कीरा हो । धानमा गाँज आउनेदेखि लिएर फूल फुल्ने वा बोटको वयस्क अवस्थासम्म यसले आक्रमण गरी वर्षेनी ठुलो क्षति पुर्‍याउने गरेको छ । कीराको प्रकोप तीव्र रूपमा फैलिने भएकाले धानका बोट केही दिनमा नष्ट हुने गरेको छ ।

धानमा पहेँलो गबारो, सेतो, छिर्के, गोल्ड–फ्रिन्ज्ड, कालो टाउके छिर्के र कलेजी रङ्गको ट्टट्ट गरी छ किसिमका गबारो कीराले धानमा आक्रमण गर्ने कृषि विज्ञको भनाई छ ।

धानको बिरुवा बेर्ना अवस्थादेखि परिपक्व अवस्थासम्मको धानमा गबारोले आक्रमण गर्न सक्छ । धान खेतमा रासायनिक मलको कमी, पानीको कमी र सूक्ष्म तत्त्वको कमीले कीराको सङ्क्रमण सहजै फैलन सक्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button