तपाईँ सुन्दै हुनुहुन्छः

भोक्राहा नरसिंहमा एक सय ९० घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा एक सय ९० घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ ।

भोक्राहा नरसिंह गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी पालिकाका विपन्न, गरिब र ज्येष्ठ नागरिकसहित एक सय ९० घरपरिवारलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण गरिएको हो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पालिकाले स्वास्थ्य क्षेत्रमा खेलेको भूमिका अपरिहार्य रहेको बताउनुहुँदै स्वास्थ्य सेवामा नागरिकको पहुँच हुन आवश्यक रहेको बताउनुभयो ।

स्वास्थ्य बीमा कार्ड नबनाएकाहरूलाई पालिकाले एक वर्षका लागि एक घरपरिवारले एक लाख बराबरको निःशुल्क उपचार गर्न पाउने व्यवस्था मिलाइएकोले उनीहरुलाई धेरै राहत हुने उहाँले बताउनुभयो ।

भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजादले पालिकाभित्र गरिब, अति विपन्न, ज्येष्ठ नागरिकहरूलाई विशेष प्राथमिकता दिई निःशुल्क स्वास्थ्य बीमा कार्ड उपलब्ध गराइएको जानकारी दिनुभयो ।

पालिकाले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर जनताको भावना अनुसार काम गर्दै आएको अध्यक्ष अजादले बताउनुभयो ।

कार्यक्रममा कोशी प्रदेशसभा सदस्यहरु इस्राइल मन्सुरी, सदान्नद मण्डल, पालिका उपाध्यक्ष सुनिता उराँव, प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरे लगायतले निःशुल्क बीमा कार्ड वितरण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button