तपाईँ सुन्दै हुनुहुन्छः

मुलुकलाई एकता र सद्भाव आवश्यक : नेता कार्की

सुनसरी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मुलुकमा एकता र सद्भाव आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल मुस्लिम संघ सुनसरीको पदस्थापन तथा प्रमाण पत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्व मन्त्री कार्कीले एकता र सद्भावबाट विकास तथा निर्माण गर्न सहज हुने बताउनुभयो ।

मुलुकमा सबै जातजाति, भाषाभाषी, संस्कृति, साम्प्रदायिक विकास भएमात्र दिगो शान्ति र विकास हुन सक्ने उहाँले त्यसतर्फ सबै अग्रसर हुन आवश्यक रहेको बताउनुभयो ।

नेपाली कांग्रेस र लोकतन्त्रको भविष्य रहेकोले सुन्दर नेपाल निर्माण गर्नका लागि आन्तरिक र राष्ट्रिय एकता मजबुत बनाउनुपर्नेमा जोड दिनुहुँदै उहाँले मुलुकको स्थिरता दिनका लागि समृद्धि, विकास र निर्माणको गति दिनुपर्नेमा जोड दिनुभयो ।

पूर्वमन्त्री कार्कीले विभिन्न आन्दोलनमा मुस्लिम समुदायले पुर्याएको योगदानलाई उच्च सम्मान गर्दै भावनात्मक एकताले सबैलाई जोड्ने काम गर्नुपर्ने बताउनुभयो ।

नेपाल मुस्लिम संघ सुनसरीले देशैभरमा नमूना काम गरेर देखाउने विश्वास व्यक्त गर्नुहुँदै कार्कीले नेपाली कांग्रेस सबैलाई एकजुट गर्ने पार्टी भएकाले विभाजित नभई सङ्गठनलाई बलियो बनाउन लाग्नुपर्ने बताउनुभयो ।

नेपाल मुस्लिम संघ सुनसरीका नवनिर्वाचित पदाधिकारीहरूलाई कार्यक्रममा प्रमुख अतिथि कार्कीले प्रमाण पत्र वितरण गर्नुभएको थियो ।

नेपाल मुस्लिम संघ कोशी प्रदेशको आयोजनामा भएको पदस्थापन तथा प्रमाण पत्र वितरण कार्यक्रममा संविधान सभा सदस्य सीताराम मेहता, जिल्ला समन्वय समिति महासङ्घका केन्द्रिय अध्यक्ष राजन मेहता, कोशी प्रदेश सभा सदस्य इस्राइल मन्सुरी, सदानन्द मण्डल, नेपाली कांग्रेसका नेताहरू ऐयुव अन्सारी, वीरेन्द्र शाह, नइम अन्सारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button