तपाईँ सुन्दै हुनुहुन्छः

बिपी साहित्य सम्मान राजेन्द्र बिमल र बिपी सेनानी सम्मान डिल्लिरमण शर्मालाई प्रदान

काठमाडौँ । यस वर्षको बिपी साहित्य सम्मान साहित्यकार राजेन्द्र बिमल र बिपी सेनानी सम्मान डिल्लिरमण शर्मालाई प्रदान गरिएको छ ।

बिपी कोइरालाको ११० औँ जन्मजयन्तीका अवसरमा राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले बिपी साहित्य सम्मानबाट जनकपुरका बिमल र बिपी सेनानी सम्मानबाट रुपन्देहीका शर्मालाई  सम्मान गर्नुभयो । 

साहित्य सम्मान पुरस्कारको राशि रु एक लाख एक हजार र प्रजातन्त्र सेनानी सम्मानको पुरस्कार रु ५१ हजारको रहेको छ ।

जननायक बिपी कोइराला स्मृति ट्रस्टले प्रत्येक वर्ष  बिपी जयन्तीका अवसरमा  बिपी साहित्य सम्मान र बिपी सेनानी सम्मान पुरस्कार प्रदान गर्दै आएको छ ।

कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रप्रतिको बिपीको  विचार आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो ।

राष्ट्रपति पौडेलले बिपीको  समानताको सिद्धान्तलाई मूर्तरूप  दिने ठोस दृष्टिकोणको सान्दर्भिकता आज पनि रहेको धारणा राख्नुभयो ।

राष्ट्रपति पौडेलले  जनतालाई सार्वभौम  अधिकार सम्मानपन्न बनाउन बिपीले खेलेको भूमिकाको प्रशंसा गर्नुहुँदै बिपी साहित्य र राजनीतिको अनुपम पुञ्ज भएको बताउनुभयो । 

कार्यक्रममा ट्रस्टका महासचिव रामचन्द्र पोखरेलले  ट्रष्टको काम र आगामी कार्य दिशाबारे जानकारी दिनुभयो ।

कार्यक्रममा  सम्मानित  व्यक्तित्व  साहित्यकार राजेन्द्र विमलले राजनीतिमा देखिएको विकृति अन्त्यका लागि बिपीको मार्गदर्शनलाई पहिल्याउँदै अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button