तपाईँ सुन्दै हुनुहुन्छः

कास्की कोटमा दही जात्रा सम्पन्न

कास्की । बिहीबार दिउँसो पोखरा २४ कास्की कोटको भाद्रारी चौतारीमा बिस्तारै गाउँका मानिसहरू जम्मा हुन थाले । घर घरबाट दही ल्याएर भाडामा राख्दै भजन कीर्तन गर्न थाले । कोही श्रीकृष्ण भएका थिए । कोही राधा कोही कंस भएका थिए । कोही दही एक आपसमा छेपाछेप गर्दै थिए, कोही दही खाँदै । कोही भजन गाउँदै थिए । यो दृश्य देख्दा सत्य युगको झल्को होकी जस्तो लाग्थ्यो ।

ऐतिहासिक स्थल कास्की कोटमा श्रीकृष्ण जन्माष्ठमीको अवसरमा दहीको होली खेलिएको हो । भगवान् श्रीकृष्णको जन्म भएको भोलीपल्ट परापूर्व कालदेखि नै कास्की कोटमा दही जात्रा हुँदै आएको गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समितिका सचिव ठाकुर प्रसाद त्रिपाठीले बताउनुभयो ।

दही जात्रामा विभिन्न सांस्कृतिक झाँकी बाजागाजा भजन कीर्तन समेत निकालिएको सचिव त्रिपाठीले बताउनुभयो । कास्की कोटको भाद्रारी चौतारामा परापूर्व कालदेखि दहीको जात्रा गर्ने गरिएको छ । दही छेपाछेप गर्नुअघि भाद्रारी चौतारामा रहेको चापको रुखलाई श्रीकृष्ण मानेर अन्य देवि देवताहरूको पूजा गर्ने प्रचलन रहेको छ । त्रिपाठी, रानामगर, दुवाडी र अधिकारीले दहिले विभिन्न क्षेत्रपाल, चण्डी, बराहा, वहासा, मनकान्छी लगायत मन्दिरमा दहीले पूजा गर्दै हिँड्ने प्रचलन रहेको छ । करिब २ किलोमिटरको यात्रामा जात्रा गरेर वास्पानी कालीका मन्दिरमा विधिवत् रुपमा जात्रा समापन हुने वास्पानी कालिका मन्दिरमा पुजारी टिका पुरीले बताउनुभयो ।

एकले अर्कालाई दही छ्यापाछ्याप गर्दा सहभागीको अनुहार समेत चिन्न मुस्किल पर्ने र छ्यापेको दही बगेर पैदल हिँड्न समेत असहज हुने स्थानीय बासिन्दाहरू बताउँछन् । जात्रामा १० वर्ष अघिसम्म प्रशस्त दही जम्मा भई जात्रामा खोलो नै बग्ने गर्दथ्यो। तर, गाउँमा चौपाया पाल्ने किसानको कमी हुन थालेपछि दही आउन पनि कम हुँदै गएको मन्रिका अमाली खिम बहादुर कार्कीले बताउनुभयो ।

त्रिपाठीका अनुसार दहीको जात्रा नेपालका ३ स्थानमा मात्र हुने गरेको छ । वीरगन्ज ,पाल्पा र कास्की कोटमा मात्रै श्रीकृष्णको जन्म भएपछि दहीको जात्रा निकाल्ने गरिन्छ ।

जात्रा संरक्षण तथा प्रवर्द्धन गर्न पोखरा २४ वडा कार्यालयले सघाउने वडाध्यक्ष भरतबहादुर अधिकारीले प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button