तपाईँ सुन्दै हुनुहुन्छः

कन्याममा ’टी टेस्टिङ’ अनुसन्धान केन्द्र निर्माण 

इलाम । इलामको सूर्योदय नगरपालिका कन्याममा ’टी टेस्टिङ्’ अनुसन्धान केन्द्र निर्माण भएको छ । 

कन्याममा ’टी टेस्टिङ्’ सहितको अनुसन्धान केन्द्र निर्माण भएपछि चिया क्षेत्रमा लामो समय देखी सक्रिय किसान उद्योगी र यस बारेमा अध्ययन अनुसन्धान गर्न चाहने सबैलाई राहत मिलेको छ । अब भौतिक संरचना पूर्णरूपमा तयार भएको छ । 

तयार भएको भवनहरू एउटै कमाउण्ड भित्र ५ वटा बल्क रहेका छन् जहाँ प्रशासन कक्ष चियाको टेस्टिङ तथा खरिद बिक्री कक्ष, चियाको अध्ययन अनुसन्धान कक्ष, चियाका विभिन्न कुराको संग्राहलय, सभाहल र ११ वटा कोठा रहेको सुविधा सम्पन्न गेष्ट हाउस पनि रहेको छ ।

कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाको लगानीमा बनेको टि टेस्टिङ् सेन्टर सहितको अनुसन्धान केन्द्रको निर्माण भवन निमार्ण रङरोगन सजावट सबै गरेर करिब २२ करोडको लागतमा सम्पन्न भएको सूर्योदय नगरपालिकाका इन्जिनियर आशिष सुवेदीले जानकारी दिनुभयो ।

दुई चरणमा  निर्माण सम्पन्न भएको केन्द्र आर्थिक वर्ष २०७६।०७७ मा भवन निर्माणको काम आशिष÷आशीर्वाद जे.भीले ठेक्का लिएको थियो । दोस्रो चरणमा भित्री डिजाइनसहितको काम सूर्योदय जे भि ले ठेक्का सम्झौता गरेको इन्जिनियर सुवेदीले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०८०।०८१ मा टी टेस्टिङ् सहितको अनुसन्धान केन्द्र सञ्चालनमा आउने सूर्योदय नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले जानकारी दिनुभयो । यसको लागि आवश्यक मेसिन सामाग्री सहित सञ्चालनको लागि प्रदेश सरकार र सघं सरकारसँग पनि आग्रह गर्ने उहाँको भनाई छ ।

सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले टी टेस्टिङ् सहितको अनुसन्धान केन्द्र मात्र हैन सुविधा सम्पन्न गेष्टहाउस र सभाहल समेतको निर्माण भएकोले यसलाई नगरले देशकै ठूलो उपलब्धिको रुपमा लिएको बताउनु भयो । देशमै पहिलो पटक टी टेस्टिङ् सहितको अनुसन्धान केन्द्र निर्माण सम्पन्न भएको बताउँदै नगरप्रमुख राईले एउटै कम्पाउण्ड भित्र चिया टेस्टिङ, चिया बिक्री कक्ष, चिया सङ्ग्रहालय गेष्टहाउस र सभाहल रहेकोले चिया पारखी चियाको अनुसन्धान खरिद बिक्री गर्न चाहने सबैलाई  सहजताका साथ आफ्नो कार्य गर्न मिल्ने बताउनु भयो ।

स्वाद चाख्न आउने चिया पारखीले त्यही आफ्नो मन परेको स्वादको चिया खरिद गर्न सक्ने छन् चियाको अनुसन्धान गर्नका आउनेका लागि पनि त्यही ल्याब रहने चियाको अध्ययन गर्न आउनेको लागि सङ्ग्रहालय पनि हुने भएकोले अब चिया क्षेत्रको विकास बजारीकरण र अनुसन्धानको लागि राम्रो ठाउँ निमार्ण भएको नगर प्रमुख राईले बताउनु भयो । राईले यो नगरकै गौरवको योजना भएको बताउनु हुँदै यसले नगरलाई मात्र हैन समग्र प्रदेश र देशलाई नै राम्रो फाइदा पुग्ने र यसलाई सफल बनाउन सबै पक्षको समन्वयमा आफ्नो टिम मेहनतका साथ लागेको र निमार्ण कार्य सम्पन्न भएको भन्दै सबैलाई धन्यवाद दिनु भयो ।

अनुगमनमा पुग्नु भएका जिल्ला समन्वय समिति इलामका प्रमुख जय प्रकाश राईले आफूले अनुगमन को क्रममा निक्कै आनन्द महसुस गरेको भन्दै निक्कै कलात्मक र मेहनतका साथ भवन निमार्ण भएको र यसले इलामको मात्र हैन समग्र देशकै चिया क्षेत्रको विकासमा निक्कै ठूलो भूमिका खेल्ने बताउनु भयो ’ ।

टि टेस्टिङ तथा अनुसन्धान केन्द्र निमार्ण पछि लामो समय देखी सक्रिय चिया किसान उद्योगीमा निक्कै उत्साह छाएको छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button