तपाईँ सुन्दै हुनुहुन्छः

ऐतिहासिक टक्सार बजारमा श्रीकृष्ण जन्मष्टमी मेला

भोजपुर । भोजपुरको टक्सार बजार धार्मिक तथा सांस्कृतिक हिसाबले ऐतिहासिक बजार हो । १८७२ गीर्वाणयुद्ध बिक्रम शाहको पालामा स्थापित टक्सार बजार धातु व्यवसायका लागि पनि त्यतिकै पूर्वमा प्रख्यात ठाउँ मानिन्छ । 

टक्सारको भाषा धर्म र संस्कार संस्कृति संरक्षणको लागि प्रत्येक वर्ष लाग्दै आएको श्रीकृष्ण जन्मष्टमी मेला यस बर्ष पनि आयोजना हुने भएको छ । टक्सार बजारलाई ‘मिनी पाटन’समेत भनिन्छ । यहाँ उपत्यकाको नेवारी सहर पाटनको स्वरूपमा सहर विकास गरिएको थियो । यहाँ कृष्ण मन्दिर, बिहार, चैत्य, गुम्बा लगायतका दर्जनौँ धार्मिक स्थलहरू छन् । सामाजिक, धार्मिक, सांस्कृतिक र आर्थिक केन्द्रका रूपमा स्थापित टक्सार बजार पछिल्लो समय जीर्ण बन्दै गएको स्थानीय सानुकाजी शाक्यको भनाई रहेको छ । शाक्यले भन्नुभयो, “यहाँका धार्मिक मठ, मन्दिर, विहार, चैत्य, गुम्बा र ठुलठुला घरहरू संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन् ।”

टक्सारमा परम्परागतरुपमा चल्दै आएको श्रीकृष्ण जन्मष्टमी मेलाका लागि अहिले तयारी भई रहेको शाक्यले बताउनुभयो । भोजपुर नगरपालिका वडा नम्बर १२ को आयोजनामा टक्सार भाद्र २० र २१ गते दुई दिने मेला लगाउन लागिएको छ । 

टक्सार ऐतिहासिक तथा धार्मिक स्थल हो, यसको संरक्षण र संवर्द्धन सहित परम्पराहरू समेत जोगाउन जरुरी रहेको वडाध्यक्ष देवी प्रसाद कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “यी विभिन्न संस्कार, संस्कृति हाम्रो अमूल्य सम्पत्ति हुन यस्ता धर्म संस्कार, संस्कृतिले सबै जातजातिलाई एक ठाउँमा जोडेको छ । यसको संरक्षण गर्दै मौलिकता जोगाउन सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ ।”

‘धार्मिक पर्यटन प्रवर्धनको लागि ऐतिहासिक टक्सार बजार जाऔँ’ भन्ने नाराका साथ आयोजना भएको मेलामा विभिन्न जातजातिका झाँकी प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, विभिन्न समूहहरूको लाखे नाच प्रदर्शन, श्रीकृष्ण रथयात्रा जस्ता कार्यक्रमहरू हुने स्थानीय बिमल रणपहेलीले जानकारी दिनुभयो । 

श्रीकृष्ण जन्माष्टमीको अवसरमा भोजपुर सदरमुकामको कृष्ण मन्दिर, टक्सार बजार, दिङ्ला बजारलगायत ठाउँमा मेला लाग्ने गर्दछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button