तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा साताव्यापी फिल्म फेस्टिवल हुने 

मकवानपुर । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा आगामी मंसिर महिनामा साताव्यापी फिल्म फेस्टिवल आयोजना हुने भएको छ । 

थाहा कला केन्द्रको आयोजनामा आगामी मंसिर ९ देखि १६ गतेसम्म साताव्यापी थाहा फिल्म फेस्टिवल–२०२३ हुन लागेको आज हेटौँडामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । 

थाहा कला केन्द्रले पर्यटनका लागि फिल्म फेस्टिवल भन्ने नाराका साथ साताव्यापी थाहा फिल्म फेस्टिवल–२०२३ आयोजना गर्न लागेको केन्द्रका अध्यक्ष सानुबाबु मोक्तानले जानकारी दिनुभयो । 

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष मोक्तानले पर्यटनको प्रचुर सम्भावना रहेको तथा प्राकृतिक एवम् भौगोलिक हिसाबले नै आकर्षक र मनमोहक रहेको थाहा नगरपालिका क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने मूल उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिनुभयो । 

कार्यक्रम आयोजना गर्न बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र थाहा नगरपालिकाको प्रत्यक्ष सहभागिता रहेको समेत उहाँले बताउनुभयो ।

उहाँले चलचित्र, लघु चलचित्र, म्युजिक भिडियो, भ्लग तथा इत्यादि छायाङ्कनको स्थल विकास तथा प्रचार गर्ने, थाहा नगरपालिकाको मुख्य–मुख्य पर्यटकीय क्षेत्रहरूको पहिचान गरी फेस्टिबलमा पाल्नुहुने चलचित्रकर्मीहरू विच प्रचार गर्ने, चलचित्र, लघु चलचित्र, म्युजिक भिडियो, इत्यादि क्षेत्रका दिग्गज दिग्गज कलाकारहरूलाई थाहाको बारेमा जानकारी गराउने साथै थाहाको पर्यटकीय क्षेत्रको अवलोकन गर्न लगाउने थाहा नगरको पर्यटन प्रवर्द्धन हुने खालका तस्बिरहरू कार्यक्रम स्थलमा राखी अवलोकन गराउने लगायतका उद्देश्यहरू निर्माण गरी फेस्टिवलको आयोजना गर्न लागिएको बताउनुभयो । 

कार्यक्रमको कुल लागत २७ लाख ८० हजार अनुमान गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button