तपाईँ सुन्दै हुनुहुन्छः

शुरु भयो जाजरकोटमा लाखे नाँच 

जाजरकोट । जाजरकोट खलंगामा डेढ सय वर्षदेखि नाचिँदै आएको लाखे नाच सुरु भएको छ । 

जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको समन्वय र स्थानीय नेवार समुदायको संयुक्त पहलमा सुरु भएको लाखे नाच यस वर्ष साउन महिनामा मलमास परेका कारण भदौदेखि मात्र सुरु गरिएको हो ।

खलंगामा शनिबार बसेको सरोकारवालाहरूको बैठकले भदौ ४ गते खलङ्गा बजार क्षेत्रमा रहेका विभिन्न पाँचवटा मन्दिरको परिक्रमा गरेर गैरीखालीबाट लाखे नाचको सुरुवात गरिएको हो । 

लाखे नाच व्यवस्थापन समिति संयोजक जनक भँडेलका अनुसार कर्णाली प्रदेश स्थापना दिवसकै दिन खलङ्गाको गैरीखालीमा रहेका कालिका मन्दिर, बजुदेवीको मन्दिर, कृष्ण मन्दिर, बाहुनबाडाको रामजानकी मन्दिर र काजीबाडाको राधाकृष्ण मन्दिर परिक्रमा गरी गैरीखालीस्थित बाल मन्दिरको प्राङ्गणमा पुगेर लाखे नाचको सुरुवात गरिएको हो ।

विगत वर्षहरूभन्दा फरक ढंगले लाखे नाच व्यवस्थित मौलिक र मर्यादित रुपमा सञ्चालन गर्न जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको समन्वय र स्थानीय नेवार तथा अन्य समुदायका व्यक्तिहरूको सहभागितामा पहल अघि बढाइएको संयोजक भँडेलको भनाइ छ । 

उहाँले लाखे नाच व्यवस्थित मर्यादित र आकर्षक बनाउन विभिन्न व्यक्ति र निकायसँग आवश्यक समन्वय गरिएको जानकारी दिनुभयो । ‘विगतका कमी–कमजोरी छाड्दै मौलिकता जोगाउँदै लाखे नाच सञ्चालन गरिएको र सबैको साथ र सहयोग जरुरी रहेको छ,’ अध्यक्ष भँडेलले भन्नुभयो ।

जाजरकोटी राजा उपेन्द्रविक्रम शाहले भक्तपुरका नेवार गोविन्दमान कँडेललाई जाजरकोट ल्याएर सुरु गरेको लाखे नाच विगत केही समय सरोकारवालाहरूको बेवास्ताका कारण ओझेलमा परेको थियो । जिल्लाको महत्त्वपूर्ण पुरातात्त्विक सम्पदा भएकाले यसको संरक्षणमा आफूहरूले आवश्यक समन्वय गरेको जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसीले जानकारी दिनुभयो । खलंगामा लाखे नाच यस वर्ष भदौ ४ देखि २१ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button