तपाईँ सुन्दै हुनुहुन्छः

जसपाद्वारा उच्च स्तरीय संसदीय छानविन समिति गठनको माग

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले रौतहटको गौर हत्याकाण्ड र मधेश आन्दोलनका बारेमा सर्वपक्षीय उच्च स्तरीय संसदीय छानविन समिति गठनको माग गरेको छ ।

सिंहदरबारस्थित जनता समाजवादी पार्टी संसदीय दलको कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता मनिष कुमार सुमनले गौर हत्या काण्डको एक पक्षीय रुपमा नभई उच्चस्तरीय संसदीय छानविन समिति गठन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताउनुभयो ।

गौर हत्या काण्डमा नेपाल सरकारको गृह मन्त्रालय र रुपसागर उपाध्यायबिच साउन २३ गते गरिएको सम्झौताप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको पनि प्रवक्ता सुमनले बताउनुभयो ।

यस्तै जसपाले गौर हत्याकाण्डबारे नेपाल सरकारले गठन गरेको सर्वोच्च अदालतका तत्कालीन बहालवाला न्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा गठित उच्चस्तरीय न्यायिक छानबिन समितिको प्रतिवेदन, राष्ट्रिय मानवअधिकार आयोग, तत्कालीन जिल्ला प्रशासन र प्रहरीले सरकार समक्ष बुझाएका प्रतिवेदन, पाटन पुनरावेदन अदालतका न्यायाधीश र सुरक्षा निकायका अधिकारीहरू रहेको जाँचबुझ आयोग लगायतले बुझाएको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न माग गरेको छ ।

बि.स. २०६३ सालमा गौरमा तत्कालीन माओवादी र मधेशी जनअधिकार फोरमबिच भएको झडपमा २७ जनाको मृत्यु भएको थियो । सोही घटनाका पीडकहरूलाई कारबाहीको माग गर्दे पीडितहरूले आन्दोलन गरेपछि केही दिनअघि सरकार र पीडितहरुबीच दोषीलाई कारबाही गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button