तपाईँ सुन्दै हुनुहुन्छः

सुन तस्करी काण्डमा राज्यका निकायहरूले छानविन गरिरहेको छ सबैले सहयोग गरौँ : मन्त्री शर्मा 

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले संसद् अवरोध गर्नु राम्रो नभएको भन्दै यसलाई निकास दिन सरकार लागिरहेको बताउनुभएको छ । 

मन्त्रिपरिषदको मङ्गलवार बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले सुन तस्करी काण्डमा राज्यका निकायहरूले छानविन गरिरहेको र त्यसको प्रक्रिया अघि बढेकाले त्यसमा विश्वास गर्नुपर्ने र छानबिनलाई सत्य तथ्य बनाउन सबैको सहयोग रहनुपर्ने बताउनुभयो ।

उहाँले राज्यका निकायले गर्ने अनुसन्धान विश्वासिलो नदेखिए त्यस विषयमा अर्को निर्णय लिन सकिने भएकाले तत्काल अनुसन्धान पुरा गर्न दिनुपर्ने र त्यसलाई निहुँ बनाएर संसद् अवरुद्ध गर्न नहुने सरकारको धारणा रहेको र त्यसका लागि सरकारले पहल गरिरहेको प्रष्ट पार्नुभयो । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी काण्डको छानबिनका लागि उच्च स्तरीय आयोग नै बनाएर छानविन गर्नुपर्ने माग राख्दै संसद्मा अवरोध गर्दै आएको छ । 

पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासामा मन्त्री शर्माले लम्पी स्कीन महामारीको नियन्त्रण र राहत प्रदान गर्नका लागि कृषि मन्त्रालयले योजना बनाइरहेको र त्यसका लागि सम्वद्ध निकायहरू आ–आफ्नो क्षेत्रमा काम गरिरहेको बताउनुभयो ।

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गदै उहाँले साउन २३ गते बसेको मन्त्रिपरिषद् बैठकले साइबर सुरक्षा नीति स्वीकृत गरेको, बैङ्किङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसदमा पेश गर्न स्वीकृति दिएको जानकारी दिनुभयो । 

यस्तै, मन्त्रिपरिषद् बैठकले पाँच रुपैयाँ दरका १५ करोड थान सिक्का टकमरीका लागि नेपाल राष्ट्र बैङ्कलाई स्वीकृति दिनुसँगै नेपालबाट विभिन्न देशमा हुने उच्च स्तरका भ्रमण तथा कार्यक्रमहरूमा सहभागी हुन स्वीकृति दिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button