तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटन प्रवर्द्धनकालागी त्रिदिवसीय महोत्सव

नवलपरासी,पश्चिम् । लुम्बिनी प्रदेशको मुख्य प्रवेशद्वारको रुपमा रहेको बर्दघाट नगरपालिकामा बर्दघाट प्रज्ञाप्रतिष्ठानले त्रिदिवसीय साहित्यिक,सांस्कृतिक तथा पर्यटन महोत्सव आयोजना गरेको छ । महोत्सव शनिबारदेखि सुरु भएको हो । मुलत स्नगरभित्र रहेका ऐतिहासिक,धार्मिक एवम् पर्यटकीय स्थलको प्रवर्द्धनका लागि महोत्सव आयोजना गरिएको हो ।

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न सक्ने प्रचुर सम्भावना भएका यस्ता स्थलहरूको इतिहासको खोजी,प्रवर्द्धन र प्रचारका लागि महोत्सव आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ ।

महोत्सवमा विभिन्न क्षेत्रका प्राज्ञिक व्यक्तित्व,साहित्यकार तथा स्रष्टाहरूलाई निमन्त्रणा गरी नगरभित्रका ऐतिहासिक धार्मिक एवम् पर्यटकीय स्थलको अवलोकन गराई यसका महत्वका बारेमा जानकारी गराइएको छ ।नगरभित्र रहेका बुद्ध मङ्गल ताल,कन्चनगढी,बनदेवी मन्दिर,हिल्स टुरिजमको रुपमा रहेको सन्सारकोट क्षेत्र र बाउन्नघोला सिमसार लगायतका क्षेत्रहरूमा पुगी तीन दिन सम्म विभिन्न साहित्यिक कार्यक्रम आयोजना गरिने छ ।

बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट नगरपालिका पर्यटनका हिसाबले निकै सम्भावना बोकेको क्षेत्र भएकाले यसको प्रवर्द्धन र सौन्दर्यीकरणका लागि नगरपालिकाले बजेट बिनियोजन गरी आन्तरिक तथा बाह्य पर्यटक भित्राउनका लागि सोही अनुरुप नगर अघि बढेको बताउँदै बर्दघाटको चिनारीमा टेवा पुग्ने गरि आगामी दिनमा थप योजनाका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्र प्रकाश उपाध्यायले कृषि र पर्यटनको क्षेत्र लाई थप प्राथमिकतामा राखिएको उल्लेख गर्दै प्राकृतिक सम्पदाबाट समेत थुप्रै लाभ लिन सकिने धारणा व्यक्त गर्नु भयो ।

बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा।घनश्याम न्यौपाने परिश्रमीले आज मुलुकमा पर्यावरणको ह्रास आउँदै गरेको अवस्थामा यसको न्यूनीकरणका लागि प्रज्ञा साहित्यको स्थापना भइरहेको उल्लेख गर्दै पर्यटकीय स्थलको विकास सँगै पर्यावरणीय सुन्दरता तर्फ समेत ध्यान दिनु पर्ने बताउनु भयो ।

महोत्सवमा विभिन्न कला संस्कृतिको प्रस्तुति समेत गरिएको थियो ।महोत्सवमा सिमसार, सहिद पार्क र संसारकोटको अवलोकन रचना वाचन, गायन तथा स्थानीय जातजातिहरूका नृत्य प्रदर्शन गरिने प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव शरद पौड्यालले उल्लेख गर्नु भयो । साहित्यिक, सांस्कृतिक तथा पर्यटन महोत्सवमा लुम्बिनी प्रदेशका १२ जिल्ला र गण्डकी प्रदेशका पुर्वी नवलपरासी र चितवनबाट भाषा साहित्य, कला, संस्कृतिसँग आबद्ध स‌‌ंघ संस्थाका प्रतिनिधि र साहित्य प्रेमी व्यक्तिहरूको उपस्थिति रहेको पौड्यालले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button