तपाईँ सुन्दै हुनुहुन्छः

देशभक्ति र सदाचार सबैभन्दा महत्वपूर्ण विषय : प्रवक्ता सापकोटा 

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले देशभक्ति र सदाचार सबैभन्दा महत्वपूर्ण विषय भएकाले यसैमा केन्द्रित भएर पार्टी अघि बढ्ने बताउनुभएको छ । 

पार्टी कार्यालय पेरिसडाँडामा पत्रकारसँग भेटघाट गर्दै प्रवक्ता सापकोटाले मुलुकमा चुनौतीहरू असामान्य रहेको भन्दै त्यसको समाधान गर्दै देशभक्ति र सदाचारलाई केन्द्र विन्दुमा राख्ने बताउनुभयो । 

प्रवक्ता सापकोटाले भ्रष्टाचार र अनियमितता नियन्त्रणमा सरकार दृढ रहेको उल्लेख गर्दै प्रमाण र तथ्यका आधारमा दोषी देखिए पार्टीभित्र या बाहिर जोसुकैलाई पनि कानुनी दायरामा ल्याइने स्पष्ट पार्नुभयो ।

माओवादी केन्द्रका उपाध्यक्ष समेत रहनुभएका प्रवक्ता सापकोटाले पार्टी रुपान्तरणका लागि तीन महिने अभियान अन्तरगत भदौ १६ गतेदेखि देशैभर सबै वडामा एकै पटक कार्यक्रमहरू सञ्चालन गरिने जानकारी समेत दिनुभयो । 

उहाँले पार्टीको आगामी विधान सम्मेलन र विशेष महाधिवेशन पार्टी रुपान्तरणको कोषेढुङ्गा हुने बताउँदै विधान महाधिवेशनमा विधि र विशेष महाधिवेशनले विचारलाई महत्त्व दिने बताउनभयो । 

महँगी नियन्त्रणमा सरकारको ध्यान जान नसेको भन्दै प्रवक्ता सापकोटाले आगामी पदाधिकारी बैठकमा एजेन्डाको रुपमा उठाएर सरकारको ध्यानाकर्षण समेत स्पष्ट पार्नुभयो । 

प्रवक्ता सापकोटाले समृद्धिका चार आधार कृषिको आधुनिकीकरण, औद्योगीकरण, राष्ट्रिय सुरक्षा र विज्ञान प्रविधिलाई विशेष जोड दिइने समेत बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button