तपाईँ सुन्दै हुनुहुन्छः

विद्युतीय व्यापार विधेयक २०८० छलफलका लागि समितिमा पठाइयो

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले विद्युतीय व्यापार विधेयक २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । 

सभामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले समितिमा पठाइयोस् भनी प्रस्ताव गर्नु भएको विद्युतीय व्यापार विधेयक २०८० सभाको सर्वसम्मतिले स्वीकृति गरेको हो ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयकको प्रमाणीकरण सम्बन्धी पत्रको व्यवहोरा पढेर सुनाउनुभएको थियो ।   

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा भैरवसुन्दर श्रेष्ठको सट्टा बिमला घिमिरे सदस्य रहने गरि हेरफेर गरिएको जानकारी गराउनुभएको छ । 

प्रस्तावित नामलाई बैठकले सहमति जनाएको छ । 

यसअघि बैठकमा सांसदहरुले काठ तस्करी बढ्दै गइरहेको र खोलानालाबाट अवैध रुपमा गिट्टी बालुवा उत्खननले राजस्व असुलीमा घाटा भएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

सांसदहरुले शून्य समयमा बोल्दै खोलानालाबाट अवैध रुपमा गिट्टी बालुवा उत्खननलाई रोक्नुपर्ने र चोरी निकासी हुने स्थानमा अनुगमनलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । 

बैठकमा सांसदहरुले पालिकाहरूमा महिला विकास तथा उत्थान प्रवद्र्धन र महिला सशक्तीकरणका लागि महिला शाखा स्थापना गर्नका लागि माग गर्नुभयो । 

महिलालाई आयआर्जन काममा लगाउनुपर्ने र महिलाहरूले उत्पादन गरेका वस्तुहरूको बजार व्यवस्थापन गर्नका लागि सरकारले पहलकदमी भूमिका खेल्नुपर्नेमा सांसदहरुले जोड दिनुभयो । 

सांसदहरुले करिब एक सय सुन प्रकरणको निष्पक्ष छानबिन हुनुपर्ने र खुल्ला सीमानाका कारण लागु औषध प्रयोगकर्ता तथा ढुवानीले आपराधिक गतिविधि बढ्दै गएको हुँदा सरकारले ठोस योजना तथा कार्यान्वयनका लागि कदम चाल्नुपर्ने बताउनुभयो ।  

मधेश प्रदेशका भूमिहीन दलित तथा सुकुम्वासीहरूलाई जस्ताको पाता दिने कुरा उपयुक्त नहुने भएकाले सरकारले वैकल्पिक छानाको व्यवस्था गर्नुपर्ने, लम्पी स्किन रोगको संक्रमण रोक्नका लागि खोपको व्यवस्था गर्नुपर्ने र डेँगु रोगलाई नियन्त्रण गर्न लगायतका विषयहरूमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभयो । 

राष्ट्रियसभाको अर्को बैठक साउन ११ गते बिहीबार बिहान ११ बजे बस्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button