तपाईँ सुन्दै हुनुहुन्छः

कालीपुल बसपार्कको नयाँ टर्मिनल भवनको उद्घाटन

म्याग्दी । सदरमुकाम बेनी बजारस्थित कालीपुल बसपार्कमा निर्माण भएको टर्मिनल भवन सञ्चालनमा आएको छ । 

बसपार्क सञ्चालन भएको १६ वर्षपछि निर्माण भएका टर्मिनल भवनको आज बेनी नगरपालिकाका मेयर सुरत केसीले उद्घाटन गर्नुभएको हो । 

सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले निर्माण गरेको टर्मिनल भवन नगरपालिकालाई हस्तान्तरण गरेपछि औपचारिक रुपमा भवनको उद्घाटन गरिएको हो ।  

टर्मिनल भवन बनाउन विसं २०७८ पुसमा शुभ कन्ट्रक्सन र आयोजनाबीच रु दुई करोड ८५ लाख ४५ हजारमा ठेक्का सम्झौता भएको थियो । नवनिर्मित टर्मिनल भवनबाट म्याग्दीबाट विभिन्न ठाउँमा छुट्ने यातायातको टिकट काउन्टरहरू सञ्चालन गरिएको छ । 

विसं २०६४ मा पर्वत र म्याग्दी जोड्ने कालीगण्डकी नदीमाथि पक्की मोटरेबल पुल निर्माण भएपछि कालीपुलमा बसपार्क सञ्चालन भएको थियो ।

बसपार्कमा निर्माण भएको एक तले भवनमा टिकट काउन्टर, शौचालय र यात्रु प्रतीक्षालय छन् । भवन परिसरमा बसपार्कको आरसिसी ढलान गरिएको छ । अपाङ्गमैत्री भवनमा सुरक्षा निगरानीका लागि सिसीटिभी क्यामेरा जडान गरिएको छ । 

भवनको उद्घाटन गर्दै मेयर केसीले एकै ठाउँबाट यात्रुहरूले टिकट काट्न पाउँदा झन्झट नहुने र सुविधा पाउने बताउनुभयो । उहाँले कालीपुल बसपार्क क्षेत्र म्याग्दी र मुस्ताङको प्रवेशद्वार समेत रहेकाले यस क्षेत्र स्वच्छ र सफा हुँदा यस क्षेत्रमा आउने पर्यटकहरूमा सकारात्मक सन्देश दिने बताउनुभयो । 

नवनिर्मित भवनमा टिकट काउन्टरका लागि कोठा विभाजन र यात्रुलाई विश्राम गर्ने फर्निचर व्यवस्थापन गरिएको कालीपुल बसपार्क व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका बेनी नगरपालिका–८ का वडा अध्यक्ष उत्तमकुमार कर्माचार्यले जानकारी दिनुभयो । 

उहाँका अनुसार, बसपार्कलाई सफा र व्यवस्थित गराउनका लागि ७ जना कर्मचारीहरू नियुक्त गरिएको र व्यवसायीहरूबाट न्यूनतम सरसफाइलाई  र पार्किङ शुल्क लिने गरि अघि बढाएको बताउनुभयो । 

‘‘टर्मिनल भवनको आम्दानी नगरपालिकामा जान्छ, बसपार्क व्यवस्थापनको लागि सहयोगबाट जुटाउने रकमको खर्च सम्बन्धमा विद्यान र आर्थिक कार्यविधि बनाएर नगरपालिकामा पेश गरेका छौँ, नगरपालिकाले लिने निर्णयको आधारमा अघि बढ्छौँ’’–उहाँले भन्नुभयो । 

बसपार्कबाट हुने आम्दानीलाई स्थानीय बालमन्दिर माध्यमिक विद्यालय, नगरपालिका र बसपार्क व्यवस्थापनमा परिचालन गर्ने मोडल तयार गरिएको छ । बसपार्क चिटिक्क परेसँगै धुलो, हिलो र अव्यवस्थित पार्किङको समस्या समाधान हुने भएको छ ।

 

विसं २०७४ मा नगरपालिकाले रु २१ करोड लागत अनुमानमा बसपार्कको गुरुयोजना तयार पारेको थियो । 

उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले निजी क्षेत्रले सञ्चालन गरेको यातायात व्यवसायलाई प्रतिस्पर्धाभन्दा पनि सेवा सुविधा सुधारमा ध्यान दिन आग्रह गर्नुभयो ।  

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल र पत्रकार महासङ्घ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले बसपार्क क्षेत्रलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि सरसफाईमा विशेष ध्यान दिन समिति र यातायात व्यवसायीलाई आग्रह गर्नुभयो । 

यातायात व्यवसायी लालबहादुर थापाले टर्मिनल भवन बाहेक अन्य क्षेत्रबाट टिकट काउण्टर सञ्चालन गर्न नदिन व्यवस्थापन समितिले ध्यान दिनुपर्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button