तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिममा लम्पी स्किनबाट ४ लाख बढी पशु सङ्क्रमित

कैलाली । देशभर महामारीको रूपमा फैलिएको पशु चौपायामा लाग्ने लम्पी स्किन रोगको अवस्था सुदूरपश्चिममा पनि भयावह देखिएको छ । यस प्रदेशका पहाडी जिल्लामा यसको सङ्क्रमण बढी छ ।

यस प्रदेशमा हालसम्म ४ लाख ११ हजार १ सय ६३ पशु चौपाया रोगबाट सङ्क्रमित भएका छन् भने २९ हजार २ सय ३२ मरेका छन् । सबैभन्दा बढी सङ्क्रमण बझाङ जिल्लामा फैलिएको छ । बझाङमा १ लाख ६१ हजार ७ सय ९५ पशु चौपाया सङ्क्रमित छन् ।

हालसम्म यो रोगका कारण सबैभन्दा बढी बैतडीमा पशु चौपाया मरेका छन् । बैतडीमा ११ हजार १८, बझाङमा ४ हजार ६ सय २३ पशु चौपाया मरेका छन् ।

रोकथामका लागी प्रभावकारी पहल भने हुन सकेको छैन । प्रदेशमा ४ लाख बढी पशुमा सङ्क्रमण भइसक्दा पनि खोप भने ६ सय ५० पशुलाई मात्र लगाइएको छ ।

यो रोग महामारीकै रूपमा फैलिए पनि पशुपालक किसानहरूले समयमै ध्यान दिने हो भने क्षति कम गर्न सकिने पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक पुष्करराज नाथले बताउनुभयो । “खोप आपूर्ति नभएको र मापदण्ड पनि नबनेकाले आवश्यकता अनुसार पशुलाई खोप लगाउन सकिएन । अब साउन देखी सायद प्रदेश सरकारका कार्यक्रम पनि अघि बढ्छन् होला । यसमा किसानहरूको भूमिका महत्त्वपूर्ण हुन्छ । लक्षण देखिने बित्तिकै खबर भयो भने क्षति कम गर्न सकिन्छ । अनि खुवाउने कुरा र स्याहारमा पनि ध्यान दिनुपर्छ ।” उहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button