तपाईँ सुन्दै हुनुहुन्छः

वृद्धावस्था सुरक्षा योजनाका योगदानकर्तालाई ७.५ प्रतिशत व्याज

काठमाडौँ । सामाजिक सुरक्षा कोषले चालु आव २०८०/८१ का लागि योगदानकर्ताले वृद्धावस्था सुरक्षा योजनामा जम्मा गरेको रकममा वार्षिक सात दशमलव पाँच प्रतिशत व्याज प्रदान गर्ने भएको छ । 

कोषले सञ्चालन गरेको वृद्धावस्था सुरक्षा योजनामा रू २३ अर्ब ७४ करोड ३७ लाख ७७ हजार योगदान रकम सङ्कलन भएको छ । 

कोष सञ्चालक समितिको बैठकले कोषबाट योगदानकर्ताले लिएको विशेष सापटीमा वार्षिक ८ दशमलव ६० प्रतिशत व्याज लाग्ने निर्णय गरेको हो । 

धितोमा आधारित घर सापटी तथा शैक्षिक सापटीमा वार्षिक ९ दशमलव २५ र धितोमा आधारित सापटीको किस्ता भुक्तानी म्याद नाघेकामा १ प्रतिशत हर्जना व्याज लिने निर्णय गरेको कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिनुभयो । उहाँका अनुसार कोषमा हालसम्म रू ३६ अर्ब ४४ करोड योगदान रकम सङ्कलन भइसकेको छ । 

औषधोपचार, स्वास्थ्य तथा मातृत्व योजनामा रू एक अर्ब १० करोड ४८ लाख ६५ हजार, दुर्घटना तथा अशक्तता सुरक्षा र आश्रित परिवार सुरक्षा योजनामा रू एक अर्ब ९८ करोड ४० लाख ५६ हजार र अतिरिक्त योगदान शीर्षकमा रू नौ अर्ब ६१ करोड १५ लाख २८ हजार सङ्कलन भएको कोषले जनाएको छ । 

कोषमा गत असार मसान्तसम्म औपचारिक क्षेत्रका चार लाख २३ हजार नौ सय २९ र वैदेशिक क्षेत्रका दुई लाख २३ हजार पाँच सय ३५ गरी कूल छ लाख ४७ हजार चार सय ६४ श्रमिक आबद्ध भएका छन् । 

कोषले ८९ हजार दुई सय ४६ योगदानकर्तालाई विभिन्न सुविधा योजनाअन्तर्गत रू पाँच अर्ब सात करोड दाबी भुक्तानी गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button