तपाईँ सुन्दै हुनुहुन्छः

भद्रपुर नगरपालिकाद्वारा ८३ करोड ६७ लाखको बजेट पारित

भद्रपुर, झापा ।  झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ८५ करोड ६७ लाख ३ हजार अनुमानित बजेट सार्वजनिक गरेको छ ।

शनिबार राति सम्पन्न नगरसभाको १२ औँ अधिवेशनले उपप्रमुख राधा कार्कीले प्रस्तुत गर्नुभएको बजेट पारित गरेको हो । 

नगरपालिकाको चालु आर्थिक वर्ष ०७९/०८० मा ९१ करोड ३४ लाख २३ हजार अनुमानित बजेट रहेकोमा आगामी आर्थिक वर्षका लागि ५ करोड ६७ लाख २० हजार रुपैयाँले कम बजेट ल्याएको छ ।

नगरप्रमुख गणेश पोखरेलले प्रस्तुत गर्नुभएको नीति तथन कार्यक्रम अनुसार प्राथमिकीकरण गरिएको बजेट विभिन्न शीर्षकमा बाँडिएको छ । आर्थिक विकास कार्यक्रमतर्फ ४ करोड ८० लाख, सामाजिक विकास कार्यक्रमतर्फ ३६ करोड २५ हजार, वातावरण तथा विपत् व्यवस्थापन कार्यक्रमतर्फ ५८ लाख, संस्थागत विकास/सेवा प्रवाह/सूचना प्रविधि तथा कार्यालय सञ्चालनतर्फ १५ करोड ८० लाख र पूर्वाधार विकास कार्यक्रमतर्फ २८ करोड ४८ लाख ७८ हजार रुपैयाँ गरी ८५ करोड ६७ लाख ३ हजार छुट्टाएको उपप्रमुख कार्कीले बताउनु भयो ।

बजेटमा नगरपालिकाको आन्तरिक आय ५ करोड ५० लाख, राजश्व बाँडफाँडतर्फ संघीय सरकारबाट १२ करोड ४४ लाख १० हजार, प्रदेश सरकारबाट ८२ लाख, स्थानीयबाट २ करोड ८० लाख ७९ हजार, संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरणमध्ये वित्तीय समानीकरण अनुदानबाट १८ करोड ५८ लाख ११ हजार, समपूरक अनुदानबाट १ करोड ७९ लाख ७८ हजार, सशर्त अनुदानबाट ३१ करोड ७२ लाख २५ हजार, विशेष अनुदानबाट २ करोड र नगरपालिकाको आन्तरिक आय, योजनामा जनसहभागिता, राजश्व बाँडफाँड र वित्तीय हस्तान्तरणबाट अपुग हुने १० करोड बराबरको योजना तथा कार्यक्रमहरू रहेको उपप्रमुख कार्कीले बताउनु भयो ।

सीमित स्रोत साधनका बीच नगरवासीको प्राथमिकतामा आधारित नीति तथा कार्यक्रम बनाइएको नगर प्रमुख पोखरेलले बताउनु भयो ।  सामाजिक विकास क्षेत्रमध्ये शिक्षा र स्वास्थ्य तथा पूर्वाधार क्षेत्रबाहेक कृषि र पशु सेवा क्षेत्रलाई प्राथमिकतामा राखिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button