तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु

ओखलढुङ्गा । ओखलढुङ्गामा पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या ४ पुगेको छ । अविरल वर्षाका कारण गएराती पहिरोले घर बगाउँदा दुई जनाको ज्यान गएको थियो भने २ जना बेपत्ता भएका थिए । बेपत्ता २ जनाको समेत शव भेटिएको छ । 

बिहीबार राति चम्पादेवी गाउँपालिका–८ विलन्दुका ३६ वर्षीय रणबहादुर गुरुङको घर पहिरोले बगाउदा गुरुङ सँगै उनकी २९ वर्षीया श्रीमती शिवमाया गुरुङ, १० वर्षीय छोरा दिनेश गुरुङ र १८ महिनाकी छोरी कृतिका गुरुङको मृत्यु भएको हो । 

आमा बाबुको शव बिहानै भेटिएपनि बेपत्ता छोराछोरीको शव स्थानीय र सुरक्षाकर्मीले पहिरोबाट निकालेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो । राती करिब ११ बजेको समयमा बस्ती माथिबाट आएको पहिरोले गुरुङकोसँगै अन्य तीन घर पहिरोले बगाएको छ ।

बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर पनि पहिरोले बगाएको छ । अन्यले भागेर ज्यान जोगाएका थिए । पहिरोले पुरिएर ४ जनाको मृत्यु भएपछि विलन्दुगाउँ शोकमा परेको छ । 

२०७२ को भूकम्पले धाँजा फाटेको जमिनमा पानी पसेर पहिरो जाँदा जनधनको क्षति भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । उक्त क्षेत्रलाई भूकम्पपछि जोखिमयुक्त भनिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button