तपाईँ सुन्दै हुनुहुन्छः

 आर्थिक मन्दीले नागरिकमा निराशा फैलियो : प्रदिप ज्ञवाली

धनकुटा ।  नेकपा एमालेका महासचिव तथा स्कुलिङ विभाग प्रमुख प्रदिप ज्ञवालीले गठबन्धनका कारण देश अराजकतामा गएको आरोप लगाउनुभएको छ ।

नेकपा एमाले प्रशिक्षण विभाग धनकुटाले आयोजना गरेको तीन दिने प्रशिक्षणका लागि आउनुभएका ज्ञवालीले यस्तो बताउनुभएको हो ।

प्रशिक्षणको उद्घाटन गर्दै उहाँले नेकपा एमालेको नेतृत्वमा बनेको देशभक्त र जनमुखी सरकार असंवैधानिक तरिकाले ढालेर गठबन्धनले देशमा अराजकतासँगै नागरिकमा निराशा फैलाएको बताउनुभयो ।

यो अराजकताको शुरुवात गठबन्धनले सांसदबाट निर्वाचित हुनुपर्ने ठाउँमा अदालतको परमादेशमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएसँगैसँगै  शुरु भएको उहाँको भनाई थियो ।

‘गठबन्धन र गठबन्धनको सरकारले गर्नुहुने/नहुने सबै काम गरेकाले देश अराजकता तिर गयो’ज्ञवालीले भन्नुभयो ।

गठबन्धन र सरकारले भुटानी शरणार्थी प्रकरणमा गैरकानुनी साँठगाँठ, देशको बजेट निर्माणमा मनपरी गरेकाले देश अराजकतासँगै आर्थिक सङ्कटमा समेत फसेको उहाँको भनाई थियो ।

‘देशका नागरिक तथा ब्यपारीहरु आर्थिक मन्दीले थप निरास छन्’ उहाँले भन्नुभयो ‘काडमाण्डौंका ३० प्रतिशत ब्यपारीक सटरहरू बन्दछन् ।’ उक्त अराजकता अहिले गठबन्धनले कोशी प्रदेशको नामाकरणमा एमाले नेताहरूलाई आक्रमण गर्ने हतियारका रुपमा प्रयोग गरिरहेको समेत उहाँको जिकिर थियो ।यस्तो अवस्थामा खबरदारी गरेर अघि बढ्ने जिम्मेवारी नेकपा एमालेको काँधमा आई परेको उहाँको भनाई थियो । 

पाख्रिबास नगरपालिका धनकुटाको कृषि अनुसन्धानको तालिम केन्द्रमा २८ गते सम्म चल्ने उक्त प्रशिक्षणमा नेकपा एमाले कोशी प्रदेश अध्यक्ष तुलसी न्यौपाने,स्कुलिङ विभाग प्रमुख गुरु बराल लगायत केन्द्रिय नेताहरूले प्रशिक्षण दिने कार्यक्रम रहेको नेकपा एमाले धनकुटाका स्कुलिङ विभाग प्रमुखका अध्यक्ष मनोज राईले जानकारी दिनुभयो ।

प्रशिक्षण कार्यक्रममा नेकपा एमाले धनकुटा जिल्ला कमिटीबाट ३० जना र विभिन्न जनवर्गीय सङ्गठनहरूबाट १० जना गरी ४० जनाको सहभागिता रहेको नेकपा एमाले जिल्ला कमिटी धनकुटाका अध्यक्ष ईन्द्रमणी पराजुलीले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button