तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाममा जारी टि–२० मा सुदूरपश्चिम ५० रनले विजयी

जनकपुरधाम । जनकपुरधाममा जारी रहेको महेन्द्रनारायण निधि टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम प्रदेश ५० रनले बागमतीलाई पराजित गर्दै विजयी भएको छ । 

नेपाल क्रिकेट संघ मधेश प्रदेशको आयोजना तथा मधेश प्रदेश सरकारको शिक्षा तथा समाज कल्याण मन्त्रालयको आर्थिक सहयोगमा जनकपुरधामको रजौलमा निर्माणाधीन अवस्थामा रहेको रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालामा बिहानको खेलमा सुदूरपश्चिम प्रदेशले ८ विकेटको क्षतिमा १२८ रन बनाएको थियो । 

सुदूरपश्चिम प्रदेशका तर्फबाट दिपक बोहोराले २८, गजेन्द्र बोहोराले २५, नारायण जोशीले १९ र राजु रिजालले १० रन बनाएका थिए । बागमती प्रदेशका तर्फबाट बलिङ गर्दै ईशान पाण्डेले ३ विकेट, दिपेश श्रेष्ठले १ र सुभाष खत्रीले १ विकेट लिएका थिए । 

१२९ रनको लक्ष्य सहितका खेल मैदानमा आएका बागमती प्रदेशले २० ओभरको खेलमा ९ विकेटको क्षतिमा ७८ रन मात्र जोडेका छन् । बागमतीका तर्फबाट गौरव खड्का ११, राजन ढकालले २० तथा सुभाष कंशाकारले ११ रन बनाएका थिए भने अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । सुदूरपश्चिमका तर्फबाट नरेश साउद, मिलन बोहोरा र सिरा मल्लले समान २–२ विकेट लिएका थिए । 

टि २० क्रिकेट अन्तर्गत दोस्रो खेल कर्णाली र कोशी प्रदेशका बीचमा भइरहेको छ । कर्णाली प्रदेशले शुरुमा व्याटिङ्ग गर्दै २० ओभरमा ९ विकेटको क्षतिमा ८६ रन बनाएका छन् । ८७ रनको लक्ष्य सहित कोशी प्रदेश व्याटिङ्ग गरिरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button