तपाईँ सुन्दै हुनुहुन्छः

ओखलढुङ्गामा मिटरब्याज पीडितको एउटा उजुरी दर्ता

ओखलढुङ्गा । ओखलढुङ्गामा मिटर व्याज पीडितको एउटा उजुरी दर्ता भएको छ । 

अनुचित लेनदेन (मिटर व्याज) सम्बन्धी जाँचबुझ आयोगको निर्णय र गृह मन्त्रालयको परिपत्र अनुसार जिल्ला प्रशासन कार्यालयले उजुरी आव्हान गरेको समयभित्र जिल्लामा एउटा मात्रै निवेदन दर्ता भएको हो ।

वैशाख १९ गते सार्वजनिक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले मिटर व्याज पीडितहरूले आफूसँग भएका सबुद प्रमाणसहित १५ दिनभित्र उजुरी दिन आग्रह गरेको थियो । पुनः ७ दिन थप गरेर समय दिँदा पनि जिल्लामा एउटा मात्रै निवेदन दर्ता भएको प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीले जानकारी दिनुभयो । ओखलढुङ्गा जिल्लाबासी पीडित भएको र पीडक ललितपुर जिल्लाका रहेको उजुरी आएको उहाँको भनाई छ । 

मिटर व्याज सम्बन्धी जाँचबुझ आयोगले जिल्लामा छलफल गराउने समेतको अधिकार दिए पनि पिडक ललितपुरका भएकाले आयोगमै उजुरी पठाइदिने तयारी रहेको उहाँको भनाई छ । 

“हामीकहाँ जम्मा एउटा उजुरी आएको छ । त्यो पनि पीडक चाहिँ ललितपुरको भन्ने उल्लेख छ ।”, प्रजिअ कुमारीले भन्नुभयो, “आयोगले समस्याहरू पहिचान गरेर छलफल गराएर सकेसम्म विवाद सुल्झाउने अन्यथा कारबाहीका लागि सिफारिस गर्ने अधिकारसहितको पत्र पठाएको छ तर ललितपुरकै मान्छे झिकाउनुपर्ने भएकाले आयोगमै यो पनि उजुरी पठाइदिने हाम्रो तयारी छ ।” 

जिल्लामा मिटर व्याज पीडितको धेरै समस्या नरहेकाले नै आव्हान गरेको समयमा उजुरी नआएको हुनसक्ने उहाँको भनाई छ । 

सरकारले केही समय पहिला ऐन नै बनाएर अनुचित लेनदेन घटनाको छानबिनका लागि देशभरिका जिल्ला प्रशासन कार्यालयबाट निवेदन सङ्कलन सुरु गरेको थियो ।  

स्रोतका अनुसार ओखलढुङ्गा जिल्लामा मिटर व्याजको भन्दा लघुवित्तबाट महँगो व्याजमा ठगिनेको सङ्ख्या धेरै छ । केही सेवाग्राहीले प्रशासनमा मौखिक उजुरी समेत दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button