तपाईँ सुन्दै हुनुहुन्छः

प्राकृतिक व्यक्तिको लागि पूँजीगत लाभकर नै अन्तिम कर हुने सहमति

काठमाडौँ । शेयर लगानीकर्ता, नेपाल धितोपत्र बोर्ड र अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागबीच प्राकृतिक व्यक्तिको लागि पूँजीगत लाभकर नै अन्तिम कर हुने सहमति भएको छ ।

अर्थ मन्त्रालयमा अर्थमन्त्री, अर्थ सचिव, नेपाल धितोपत्र बोर्डका अध्यक्ष तथा शेयर लगानीकर्ताहरूको उपस्थितिमा भएको छलफलमा त्यस्तो सहमति भएको हो ।

छलफलमा सहमतिपछि अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाले एक सूचना जारी गर्दै शेयर कारोबार गर्ने प्राकृतिक व्यक्तिले नियमानुसार दाखिला गरेको ५ र ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम कर हुने जनाएको छ ।

आर्थिक विधेयक–२०८० को दफा २९ का सन्दर्भमा प्राकृतिक व्यक्तिले लगानी गरेको सूचीकृत धितोपत्रहरु बिक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानूनी व्यवस्था कायम रहेको र त्यस्तो कारोबारबाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत वा ७.५ प्रतिशत पूँजीगत लाभकर अन्तिम कर हुनेछ मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

सहमतिसँगै शेयर लगानीकर्ताहरूको आन्दोलन स्थगित भएको छ भने कारोबार समेत खुलेको छ । 

शेयर लगानीकर्ताहरू ब्रोकरको कार्यालयमा टीएमएस खुला नगर्ने चेतावनी दिएर कारोबार बन्द गराई अर्थमन्त्रीसँग छलफलको लागि अर्थ मन्त्रालयमा पुगेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button