तपाईँ सुन्दै हुनुहुन्छः

ऐतिहासिक ‘नर्बन्दा पाटी’काे पुनःनिर्माण सुरु

बनेपा। वर्षौंदेखि भग्नावशेषका रुपमा रहेको मण्डनदेउपुर नगरपालिका–९ स्थित पुरानो ऐतिहासिक ‘नर्बन्दा पाटी’ पुनःनिर्माण सुरु गरिएको छ ।

पुरातत्व विभागको आर्थिक सहयोगमा निर्माण सुरु भएको पाटीको मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइबाले शिलान्यास गर्नुभयो । नर्बन्दा नाम गरेकी चेलीले सो पाटी निर्माण गरेको किम्वदन्ती छ । पाटी कति वर्ष अघि निर्माण गरिएको भन्ने यथार्थ मिति नभेटिए पनि कम्तीमा दुई सय वर्षभन्दा बढी पुरानो भइसकेको अनुमान छ ।

जीर्ण रहेको अवस्थामा रहेको उक्त संरचना २०७२ सालको भूकम्पका कारण थप जीर्ण बनेको थियो । जसको पुनःनिर्माणका लागि अहिले पुरातत्व विभागले रु १५ लाख ६६ हजार आठ सय ५२ बजेट व्यवस्थापन गरेर काम अगाडि बढेको हो । पाटी चालु आर्थिक वर्षमा एक तला निर्माण हुनेछ भने आगामी आवमा पुनःनिर्माणको सम्पूर्ण काम सकिने निर्माण कम्पनी पञ्चस्तम्भ कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रालिको भनाइ छ ।

पुरातात्विक तथा सार्वजिक महत्वका सम्पत्ति संरक्षण गर्ने राज्यको कर्तव्य भएको र त्यसको संरक्षणका लागि पुरातत्व विभागबाट बजेटको व्यवस्थापन भएपछि पुनःनिर्माण सुरु भएको नगरप्रमुख वाइबाले बताउनुभयो ।

नगरप्रमुख वाइबाले काम हुँदै गर्दा निर्माणको रेखदेख गर्न स्थानीयलाई आग्रह गर्नुभएको छ । “नगरपालिकाले पनि अनुगमनलाई विशेष ध्यान दिन्छ”, उहाँले थप्नुभयो, “उपभोक्ताले पनि जिम्मेवारीका साथ निर्माण भइरहँदा अवलोकन गरिरहनुपर्छ ।”

काम बिग्रिएपछि टीकाटिप्पणी गर्नुभन्दा हुँदै गर्दा कमीकमजोरी औँल्याउन सक्यौँ भने राम्रो हुने उहाँको भनाइ छ । नगरपालिकाले जीर्ण रहेको बालुवा पाटी, रायोबारीको पाटीलगायतका विभिन्न मठमन्दिर तथा पाटी पुनःनिर्माणका लागि पुरात्व विभागमा प्रस्तावना बुझाइसकेको अध्यक्ष वाइबाले बताउनुभयो ।

नगर उप्रमुख विष्णुमणि नेपालले निर्माण कम्पनीलाई गुणस्तरीय काम गर्न निर्देशन दिनुभएको छ । ऐतिहासिक पाटी पुनःनिर्माणमा कोही कसैले खेलाची नगर्न आग्रह गर्दै प्राविधिक अनुमानित लागतअनुसार निर्माण भए नभएको हेर्न स्थानीयलाई समेत अनुरोध गर्नुभएको छ ।

पुरातात्विक महत्वको संरचना भावी पुस्ताका लागि समेत चिनारीका रुपमा संरक्षण गर्नु सबैको दायित्व भएको उहाँले बताउनुभयो । वडा नं ९ का अध्यक्ष सीताराम श्रेष्ठले पाटी निर्माणपछि व्यवस्थित ढङ्गले सञ्चालन गर्न छुट्टै समिति गठन गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button