तपाईँ सुन्दै हुनुहुन्छः

यसरी मनाइयो जितगढी उत्सव

रुपन्देही । जितगढीमा नेपाल–अङ्ग्रेजका बीचमा भएको युद्धमा नेपालले विजय हासिल गरेको खुसीयालीमा बिहीबार जितगढी उत्सव मनाइएको छ ।

१८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अङ्ग्रेज फौजमाथि जित हासिल गरेको थियो । सोही खुसीयालीमा बुटवल उपमहानगरपालिकाले जितगढी उत्सव मनाउँदै आएको छ । बिहीबार जितगढी उत्सवका अवसरमा जितगढी उत्सव मूल समारोह, गोरखादेखि पैदलयात्रामा आएको नेपाली सेनाको टोलीलाई स्वागत गरिएको थियो ।

चैत २८ गते गोरखादेखि सुरु भएको पदयात्रा टोली तत्कालीन समयको राज्य एकीकरण मार्ग हुँदै विजय उत्सव मनाउन आज बुटवलको जितगढी आइपुगेको हो ।

नेपाली सेनाका क्याप्टेन राजकुमार श्रेष्ठको नेतृत्वमा ४८ जनाको टोली गोरखाबाट जितगढीका लागि निस्केको थियो । नेपालको राष्ट्रिय झन्डाको साथमा ५ प्रथम कम्पनी (श्रीनाथ, कालिबक्स, बर्दवाणी, सबुज, पुरानो गोरख) र जितगढी लडाइमा सहभागी गुरुबक्स गुल्मको झण्डा बोकेर बाजागाजासहित सेनाको टोली पदयात्रामा निस्किएको थियो ।

गोरखाबाट प्रस्थान गरेको टोलीले सतीघाट पुगेर तनहुँको टोलीलाई झण्डा हस्तान्तरण गरेका थिए भने तनहुँको टोलीले केलादीघाट पुगेर पाल्पालाई तथा पाल्पाले नुवाकोटगढी पुगेर रुपन्देहीलाई झण्डा हस्तान्तरण गरेको मध्यपश्चिम पृतना हेडक्वार्टर बुटवलका पृतनापति यामप्रसाद ढकालले जानकारी दिनुभयो । रुपन्देहीको टोलीले जितगढी विजय उत्सवको दिन पारेर जितगढी पुर्‍याएपछि कणेल उजिर सिंहको शालिकमा माल्यार्पणपछि यात्राको समापन गरिएको हो ।

पाल्पाको नुवाकोटदेखि आएको टोलीलाई पुरानो बुटवलस्थित सिद्धि विनायक गणेश मन्दिरसम्म बुटवल उपमहानगरका प्रमुख खेलराज र पृतनापति यमप्रसाद ढकालसहितको टोली लिन पुगेको थियो । सो स्थानबाट विभिन्न जातीय तथा धार्मिक झाँकी र बाजागाजासहित जितगढी किल्लामा आएर पदयात्राको समापन गरिएको थियो।

एकीकरण मार्गसहित ऐतिहासिक धरोहरको जगेर्ना गर्ने, ऐतिहासिक एकीकरणको अभियानको सन्देशलाई भावी पुस्तामा हस्तान्तरण गर्ने र राष्ट्रिय एकताको भावना थप प्रगाढ बनाउने उद्देश्यले सरोकारवाला, स्थानीय निकायको सहभागितामा पदयात्रा कार्यक्रम तय गरिएको पृतनापति ढकालले बताउनुभयो ।

गोरखादेखि जितगढी पुग्ने ५५ जनाको टोली रहेको र जिल्ला–जिल्लाका ३५ जना सेनाको सहभागितामा पदयात्रा गरिएको नेपाली सेनाले जनाएको छ । राष्ट्रिय एकताको जगेर्ना, पर्यटन प्रवर्द्धन तथा सैनिक नागरिक सम्बन्ध थप प्रगाढ बनाउँदै जाने र नेपालका ऐतिहासिक धरोहर गढी, किल्ला सबैको अवलोकन गर्ने गरी कार्यक्रम आयोजना गरिएको पृतनापति ढकालको भनाइ छ ।

नेपाली सेनाका अनुसार यात्रामा गोरखाको रिपुमर्दन गण, तनहुँको रुरु भैरव दल गण, काली भञ्जन गण, राजदल गण, स्याङ्जाको समरजित गुल्म, पाल्पाको दि फेमस महिन्द्र दल गण र रुपन्देहीको गरुड दल गण प्रत्यक्ष सहभागी छन् । सो टोलीले गोरखादेखि जितगढीसम्म करिब २०७ किलोमिटर दुरीको पदयात्रा पार गरेको छ ।

संवत् १८७१ मा स्थल मार्गबाट अङ्ग्रेजले बृहत् गोर्खा अधिराज्यसित ६–७ ठाउँबाट युद्ध सुरु गरेपनि जितगढी कमाण्डमा कर्णेल उजीरसिंह नेतृत्वको नेपाली फौजले कम्पनी सेनालाई पराजित गर्दै गोरखपुरसम्म लखेटेको थियो । सो लडाइँमा कर्णेल उजिर सिंह थापाले कमाण्ड सम्हालेका थिए ।

समापनको अवसरमा इतिहासका जानकार निर्मल श्रेष्ठले जित गढी किल्लाको बारेमा व्याख्या गर्नुभएको थियो । बिहीबारको उत्सवमा राष्ट्रपति, प्रधानसेनापति लगायतका विशिष्ट व्यक्तिहरू आउने र सेनाले तयार गरेको गढी पुनःनिर्माण हस्तान्तरण गर्ने कार्यक्रम तय भए पनि राष्ट्रपति रामचन्द्र पौडेल बिरामी परेपछि तत्कालका लागि रोकिएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button