तपाईँ सुन्दै हुनुहुन्छः

सूर्योदयमा ५० हजार गुणस्तरहीन तयारी चिया नष्ट 

इलाम । इलामको सूर्योदय नगरपालिकामा ५० हजार गुणस्तरहीन तयारी चिया नष्ट गरिएको छ । 

सूर्योदय नगरपालिका वडा न ५ मा रहेको समाल भ्याली टि स्टेड प्रालिले  तयारी चिया सूर्योदय नगरपालिकाले खान योग्य नभएको भन्दै खाडलमा पुरेर नष्ट गरिदिएको हो । 

कारखानाले मुना नभई चिया प्रशोधन गर्दा आउने डष्ट तथा सिन्का डाँठको तयारी चिया उत्पादन र खरिद समेत गरेर बिक्री गर्न तयारी अवस्थामा राखेको अनुगमनको क्रममा पाइएपछि नगरपालिकाले त्यस्तो चिया नियन्त्रणमा लिएर नष्ट गरेको नगरपालिकाका उपप्रमुख दुर्गा बरालले जानकारी दिनुभयो । 

उपप्रमुख बरालले सूर्योदय नगरपालिकाले चिया क्षेत्रमा देखिएको समस्या समाधान गर्नको लागि हरसम्भव सबैसँग मिलेर सहकार्य गरिरहेको र चियाको गुणस्तर बढाउन कारखाना अनुगमनमा जाने क्रममा प्याकेजिङ गरिएको चिया खोलेर हेर्दा गुणस्तरहीन चिया पाइएको र उक्त चिया ठुलो परिणाममा रहेकोले नगरपालिकाले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने यदि भारत पठाएको खण्डमा नेपालको चियाकै गुणस्तरमा प्रश्न उठ्ने भएकोले तुरुन्तै नगर प्रहरी खटाएर चिया नियन्त्रणमा लिएको र आज सबै पक्षको साथमा नष्ट गरिएको बताउनुभयो । 

उपप्रमुख बरालले कारखानाले गरेको यही गल्तीको कारणले कारखाना नै शील गरेर अनुसन्धान गर्न पनि सकिने भए पनि कारखाना बन्द हुँदा सयौँ चिया किसानको चिया प्रशोधन हुन नसक्ने र किसान मारमा पर्ने देखेर एक पटकको लागि आगामी दिनमा .यस्तो गल्ती नगर्ने सर्तमा सचेत गराएको र अहिलेले कारखाना सञ्चालन गरिरहने वातावरण मिलाएको बताउनुभयो ।

उहाँले अब नगरको सबै कारखानामा कडाइका साथ निगरानी र अनुगमन गर्ने जानकारी दिनुभयो । 

सूर्योदय नगरपालिका चियाको गुणस्तर सुधार गर्दै चियाको अन्तर्राष्ट्रिय बजार उच्च बनाउन र  चियाको दिगो समस्या समाधान गर्न लागिरहेको अवस्थामा शुद्ध नेपाली चिया नाममा  गुणस्तरहीन चिया प्याकेजिङ गरी बेच्न तयारी पारिएको र यदि भारत पठाउँदा  स्याम्पल परीक्षण भए नेपालको सबै चियाको बजारलाई यसले गभिंर असर पार्ने भएकोले पनि तुरुन्त नगरपालिका एक्सनमा गएको चिया समाधान समितिका संयोजक तथा वडा न १० का अध्यक्ष पेमा उगेन लामाले जानकारी दिनुभयो । 

चिया प्रशोधन ग्रेडिङ हुँदा अन्तिम अवस्थाको चिया भएको र यस्तो चिया हरेक कारखानामा उत्पादन हुने यसलाई नष्ट नगरी प्याकेजिङ गरेर नेपालको नाम सहित बिक्रीको लागि तयारी गर्दा यसले नेपालको चियाको गुणस्तरमै नकारात्मक असर पर्ने तथा  यसको प्रयोगले मानव स्वास्थ्यमा असर पनि पर्ने भएकोले नगरपालिकाले आफ्नै निगरानीमा चिया नष्ट गर्ने काम गरेको वडा अध्यक्ष लामाले जानकारी दिनुभयो ।

लामाले भन्नुभयो “उद्योगमा जति धेरै राम्रो मापदण्ड पुगेको गुणस्तरीय हरियो पति आयो त्यति नै कम सिन्का डाँठ उत्पादन हुन्छ त्यसैले यस्ता कम गुणस्तरको चिया उत्पादन घटाउँदै नेपालको चियाको गुणस्तर बढाउन किसानले चिया टिपाइमा पनि व्यापक सुधार ल्याउनु पर्छ ।”

भण्डारण गरेर राखिएको चिया मात्र हैन बेच्न प्याकेजिङ गरेर तयारी राखिएको चिया पनि डस्ट तथा सिन्का सहितको गुणस्तरहीन हुनु यो कुरा अन्तर्राष्ट्रिय बजार सम्म पुगे नगरपालिकाको मात्र हैन नेपालकै चियाको गुणस्तरमा प्रश्न उठ्ने भएकोले पनि यो चिया नियन्त्रणमा लिएर नष्ट गर्ने काम गरिएको लामाको भनाई छ ।

समाल भ्याली टि स्टेडमा मेनेजर अमन जैसवालले आफ्नो कारखानाको मात्र नभई नगरका अरू कारखानाबाट पनि प्रति केजी रु २५ मा खरिद गरेको जानकारी दिँदै पहिला पहिला भारत लगायतका बजारमा आफूहरूले यस्तो प्रकारको चिया केही मात्रमा बिक्री गरेको कारण पनि यसपटक पनि प्याकेजिङ गरेको तर नगरपालिकाले यस्तो चिया बिक्री गर्न नहुने भनेपछि नगरपालिकाकै रोहबरमा नष्ट गर्ने काम गरेको बताउनुभयो । 

मेनेजर जैसवालका अनुसार यो चिया खाद्य चियाकै रुपमा बजारमा पठाइने गरिएको पाइएको छ अत्यन्तै धेरै धुलो र सिन्का भएको चिया कारखानाले प्याकेजिङ गरेर शुद्ध नेपाली चियाको नाममा बेच्न तयारी गरिरहेको पाउँदा हामी कस्तो चिया पिउदैछौँ भन्ने प्रश्न उठेको छ । मेनेजर जैसवालले आफूहरूबाट गल्ती भएको स्वीकार गर्दै अब अरू कारखानाबाट खरिद पनि नगर्ने र आगामी दिनमा यस्तो काम पनि नगर्ने बताउनुभयो । 

उहाँको अनुसार नष्ट गरिएको चिया १५ लाख बराबरको हो तर यसको प्याकेजिङ लगायतमा पनि निक्कै ठुलो रकम खर्च भएको देखिन्छ । जैसवालले यस्तो चिया आफ्नो कारखानाले मात्रै बिक्री गर्ने नभई अरू कारखानाले पनि बिक्री गर्ने गरेको बताउनुभयो ।  भारतीय बजारमा जाने भएकोले आफूहरूले अरू कारखानाबाट पनि चिया खरिद गरेको जानकारी दिनुभयो । 

चिया बिस्तार योजनामा फिक्कलका नवीन कोइरालाले चिया प्रशोधन गर्दा  निस्किने सिन्का डष्ट आदि चिया खान नमिल्ने चिया वितरणको लागि तयारी गरिनु गलत भएको बताउनु भयो ।उहाँले नेपाल सरकारले तोकेको परिधि क्रुड फाइबर १५ प्रतिशत हुनु पर्ने र टोटल भष्म ५ देखि ८ प्रतिशत हुनुपर्ने लगायतको मापदण्ड भन्दा बढी हुने लगायतका कारण उक्त चिया मानव स्वास्थ्यको लागि पूर्ण रुपमा हानिकारक हुने बताउनुभयो ।

सूर्योदय टि एसोसिएसन प्रा. लि. का अध्यक्ष उत्तम कुमार श्रेष्ठले यो कार्य जसले गरे पनि गलत भएको बताउनुभयो । उहाँले कसैले किन्छ भने अरू कारखानाले बेच्नु स्वभाविक भएको दाबी गर्दै यो मलखादको रुपमा प्रयोग गर्न सकिने तर खानाको लागि प्रयोग गर्न नसकिने चिया आफ्नै शुद्धनेपालको नाममा बिक्री गर्नु चाही सही नभएको बताउनुभयो । 

वडा न. ५ का वडा अध्यक्ष उर्गेन बम्जनले प्रकृतिको डस्ट सिन्का लगायत खाने चियाकै रुपमा बिक्री गर्ने गरेको आफूले पहिलो पल्ट सुनेको बताउँदै चियाले कतै अवार्ड पाउँदै गरेको अवस्थामा यस्तो गुणस्तरहीन चिया बजारमा जाँदा नेपालको चिया गुणस्तरीय छैन भन्ने सन्देश बाहिर गए निक्कै घातक भएको बताउनुभयो । 

सूर्योदयमा मेयर रणबहादुर राई निर्वाचित भएर आए पछि नै चियाको समस्या समाधानको लागि विशेष पहल हुँदै आएको छ । मेयर राईको अग्रसरतामा २०७५ सालमा हरियो चिया पतिको न्यूनतम समर्थन मूल्य समेत तोकेर चियाको मापदण्ड निर्धारण गरिएको छ । त्यहिकारण पनि अहिले कारखानाले न्यूनतम ४० रुपैयाँ मूल्य दिइरहेको पाइएको छ । 

चियाकै समस्या समाधान गर्न नगरले गत माघमा चिया समस्या समाधान समिति गठन गरेको छ । सरोकारवालासँग व्यापक छलफल परामर्श र सुझाव लिएर चियाको समस्या समाधान गर्ने र नगरको चियाको गुणस्तर उच्च राख्ने योजनाका साथ समिति गठन गरिएको नगर प्रमुख राईले बताउँदै आउनु भएको छ । 

नगरमा बनेको कार्यविधि पालना नभएको गुनासो अहिले पनि व्यापक रुपमा आउने गरेको छ यही समयमा चिया कारखानामै तयारी चियाको ठुलो परिमाण गुणस्तरहीन भेटिनुले तरगं पैदा गरेको छ । चिया क्षेत्रको समस्या समाधान नगरको एकल प्रयासले मात्र सम्भव नहुने चिया ढुवानीकर्ता प्रशोधन कारखाना सकंलन चिया किसान सबैको सामूहिक प्रयास बाट मात्र समाधान हुने नगरको भनाई छ । 

नगरपालिकाले चियाको गुणस्तर राम्रो बनाउन अब चिया टिपाइलाई नै सुधार गर्नु पर्ने विज्ञको सुझाव छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button