तपाईँ सुन्दै हुनुहुन्छः

विश्वविद्यालयको शिक्षा व्यावहारिक र जीवनोपयोगी हुनुपर्नेमा प्रधानमन्त्रीको जोड

कञ्चनपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यावहारिक र जीवनोपयोगी शिक्षामा जोड दिनुभएको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री दाहालले विश्वविद्यालयको शिक्षा केवल औपचारिक र सैद्धान्तिक मात्र नभई व्यावहारिक, जीवनोपयोगी तथा समाजको रूपान्तरणका लागि सहयोगी हुनुपर्ने धारणा राख्नुभयो ।

प्रधानमन्त्री दाहालले हर्बल साइन्स र कृषिका कार्यक्रमहरूले प्रत्यक्ष रूपमा समाजको आर्थिक अवस्था सुधार गर्ने गरी शैक्षिक ज्ञानलाई खेती, खेतीलाई उत्पादन, उत्पादनलाई निर्माण एवम् उपभोक्तासम्म जोड्ने गरी विकास केन्द्रहरू मार्फत बढ्न सके सुदूरपश्चिम प्रदेशको रोजगारीमा ठूलो योगदान पुर्‍याउन सकिने बताउनुभयो । त्यसतर्फ विश्वविद्यालयको उच्च शिक्षा उन्मुख हुनेछ भन्ने उहाँले विश्वाससमेत व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री दाहालले सुदूरपश्चिम विश्वविद्यालयमा एमफिल र पिएचडी जस्ता अनुसन्धान तहका कार्यक्रमहरू सञ्चालन भई विदेशी प्राध्यापक अनुसन्धानकर्ताहरूले समेत उच्च प्राज्ञिक उपाधि आर्जन गर्न लागेको विषयले गौरवान्वित तुल्याएको उल्लेख गर्नुभयो ।

आउँदा केही वर्षमा विश्वविद्यालयले प्राविधिक एवम् व्यवसायमूलक तथा गुणस्तरीय उच्चशिक्षा प्रदान गर्ने मुलुककै एक प्रतिष्ठित विश्वविद्यालयको रूपमा स्थापित हुनेछ भन्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले सुदूरपश्चिममा मेडिकल विश्वविद्यालय सञ्चालनका लागि मन्त्रिपरिषद्‌बाट निर्णय गरिसकेको स्मरण गराउँदै सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको बताउनुभयो ।

त्यस्तै, सुदूरपश्चिम विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सूचना प्रविधिसँग सम्बन्धित कार्यक्रमहरू थप गर्ने, विशेष आवश्यकता शिक्षा, दूर शिक्षा, क्रेडिट ट्रान्स्फरको व्यवस्था, उच्चशिक्षाको विषय र क्षेत्रलाई विविधीकरण गर्ने कार्यले सुदूरपश्चिम विश्वविद्यालय विद्यार्थीहरूको आकर्षणको केन्द्र बन्ने विश्वास व्यक्त गर्नुभयो ।

शिक्षालाई राष्ट्रको इतिहास र संस्कृतिसँग जोडिएका मौलिक ज्ञान र सीपलाई जोगाई राख्ने र प्रवर्द्धन गर्ने दायित्व पनि विश्वविद्यालयको भएको उहाँको भनाइ छ । ‘देशको आर्थिक तथा सामाजिक रूपान्तरणमा शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ । देशको आर्थिक, सामाजिक परिवर्तनमा उच्चशिक्षाको थलोको रूपमा रहेको सुदूरपश्चिम विश्वविद्यालयको भूमिकालाई अझ प्रभावकारी र सशक्त बनाएर लैजानु पर्ने आवश्यकता छ’, उहाँले भन्नुभयो, ‘विश्वविद्यालयले अनुसन्धानका कार्यहरूलाई आर्थिक तथा सामाजिक विकाससँग जोडेर लैजानु पर्नेछ । विज्ञान तथा प्रविधिका विषयहरूलाई उच्च प्राथमिकतामा राखेर दक्ष जनशक्ति उत्पादन गरी देशको बेरोजगारी र गरिबी कम गर्नेतर्फ सुदूरपश्चिम विश्वविद्यालयले महत्त्वपूर्ण भूमिका खेल्नु पर्ने छ ।’

सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहका प्रमुख अतिथि समेत रहनु भएका भारतको महात्मा ज्योतीबा फुले रुहेलखण्ड विश्वविद्यालय बरेलीका उपकुलपति प्रा केपी सिंहले नेपाललाई आध्यात्मिक निवासको रूपमा पनि चित्रण गर्दै शिक्षाको क्षेत्रमा नेपाल–भारत सम्बन्धका बारेमा धेरै बुद्धिजीवी र विज्ञहरूका पौराणिक कथाहरूमा उल्लेख गरिएको चर्चा गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button