तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली चियाको गुणस्तरमा शङ्का नगर्न चिया उद्यमीको आग्रह

भद्रपुर, झापा । नेपाली चियाको गुणस्तरमा शङ्का नगर्न चिया उद्यमीहरूले भारतीय पक्षलाई आग्रह गरेका छन् ।

केही समययता भारतमा नेपाली चियाको गुणस्तरका विषयमा अनर्गल प्रचार भएको भन्दै पूर्वी नेपालका चिया उद्योगी–व्यवसायीहरूले भारतको कोलकातास्थित नेपाली महावाणिज्य दूतावासमार्फत नेपाली चिया गुणस्तरीय भएको बताएका हुन् ।

कतिपय भारतीय सञ्चारमाध्यमले नियोजित रुपमा नेपाली चिया गुणस्तरहीन भएको जनाउँदै निरन्तर समाचार सम्प्रेषण गरिरहेको चिया उद्यमीहरूको भनाइ छ ।

झापाको काँकडभिट्टामा शनिबार भएको छलफलमा नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेशकुमार मित्तलले बेला बेलामा चिया निर्यातमा व्यवधान आइरहेको जनाउँदै समस्या समाधानका लागि पहल गरिदिन दूतावासलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा महा वाणिज्य दूत ईश्वरीराज पौडेलले नेपाली चिया निर्यातमा हुनसक्ने अवरोधबारे व्यवसायी चनाखो रहनुपर्ने बताउँदै निर्यात व्यापारमा देखिने समस्या समाधानका लागि आफ्नो तर्फबाट सक्दो प्रयास हुने बताउनुभयो ।

नेपाली चिया व्यवसायीहरूका अनुसार चिया निर्यातबाट नेपालले बर्सेनी तीन अर्ब रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएको छ । 

नेपाली चिया उत्पादनको ६० प्रतिशत हिस्सा भारत निर्यात हुन्छ ।

नेपालमा उत्पादित सीटीसी चियाको मुख्य बजार भारत हो । सीमावर्ती क्षेत्रमा गुणस्तर जाँच प्रयोगशाला नहुँदा नेपाली व्यवसायीले झन् ठूलो समस्या व्यहोर्नुपरेको जनाउँदै यसको समाधानका लागि सरकारी तहबाट प्रयत्न हुनुपर्ने नेपाली व्यवसायीको माग छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button