तपाईँ सुन्दै हुनुहुन्छः

श्रोत र साधनको सही सदुपयोग गरौँ : मुख्यमन्त्री गिरी

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले देशको उत्पादन र प्राकृतिक श्रोत र साधनको सही सदुपयोग गर्न सकेमा देशको व्यापार घाटा कम गर्न सकिने र अर्थतन्त्रमा देखिएको सङ्कटलाई सही बाटोमा हिँडाउन सकिने बताउनुभएको छ ।

नेपालमा आर्थिक संकट कम गर्ने उपायका रुपमा ढुङ्गा तथा गिट्टी बालुवा बेच्न र बनमा रहेको काठको सही सदुपयोग गर्नुपर्ने उहाँले प्रस्ताव राख्नुभएको छ ।

पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको २२ औँ साधारण सभाको आज बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री गिरीले हामीले हामीसँग जे छ त्यो बेच्नुपर्दछ भन्नुहुँदै उपयोगविहीन भएर बसेका भीर र पहाड काटेर ढुङ्गा बेच्न सकेमा व्यापार घाटा कम हुने तथा यातायात व्यवसायीले पनि ढुवानीको काम पाउने बताउनुभयो ।

राज्यले गर्ने काम विभिन्न सेवा क्षेत्रको काम नीजि क्षेत्रका व्यवसायीहरूले गरे पनि राज्यले त्यसलाई कदर गर्न नसकेको स्वीकार गर्नुहुँदै उहाँले अब निजी क्षेत्रको साथमा सरकार अगाडि बढ्ने बताउनुभयो ।

मुख्यमन्त्री गिरीले यातायात क्षेत्रका समस्यालाई सम्बोधन गर्न आफु र प्रदेश सरकार प्रतिबद्ध रहेको जनाउनुहुँदै नीतिगत सुधारका लागि आवश्यक बुँदाहरू लिएर एउटै टेबलमा बसेर छलफलका लागि आव्हान गर्नुभयो ।

कार्यक्रममा यातायात क्षेत्रका अगुवाहरूले आफूहरूले समय अनुकूलको भाडा पाउन नसकेको गुनासो गर्दै भारतीय ट्रकहरूले निर्बाध रुपमा ओभरलोड बोकेर गुड्दा नेपाली ट्रक व्यवसायीहरू धाराशाही हुनुका साथै सडक भत्केर राष्ट्रको लगानी डुबेको बताएका थिए ।

कार्यक्रममा संस्थागत धारणा राख्नुहुँदै अध्यक्ष यमप्रसाद पाण्डेले विशुद्ध नेपाली निजी क्षेत्रबाट सञ्चालित सार्वजनिक यातायात क्षेत्रले रोजगारी र अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याएको भएपनि राज्यको स्पष्ट कानुन नहुँदा यस क्षेत्रमा लगानी गरेका व्यवसायीहरू पलायन हुनुपर्ने अवस्था आएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button