तपाईँ सुन्दै हुनुहुन्छः

‘पत्रकारिता क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध’

जनकपुरधाम । मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री शत्रुधन प्रसाद सिंहले मधेश प्रदेश सरकारले पत्रकारिता क्षेत्रको विकासका लागि सबै प्रकारको सहयोग गर्नका लागि तयार भएको बताउनुभएको छ ।

सञ्चारमन्त्री सिंहले द एसिया फाउन्डेसनको आयोजनामा सञ्चार सम्बन्धी प्रभावकारी नीति निर्माणका विषयमा धनुषाका पत्रकारहरुसंग जनकपुरधाममा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले सञ्चार माध्यमले मुलुकमा सुशासन, जनअधिकारको स्थापना तथा आवाज विहीनहरूको आवाजलाई बुलन्द बनाउँदै आएको बताउँदै गलत विषयको निष्पक्ष रुपमा आलोचना गर्न आग्रह गर्नुभयो ।

सञ्चारमन्त्री सिंहले मधेश प्रदेश सरकारले प्रदेशमा क्रियाशील महिला पत्रकारहरूको बिमा जस्ता कार्यक्रम गरेको र भविष्यमा अन्य पत्रकारहरूको पक्षमा काम गर्न तयार भएको बताउनुभयो ।

मधेश प्रदेशका आम सञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले मधेश प्रदेशका पत्रकारको वृत्ति विकास सहितको क्षेत्रमा आम सञ्चार प्राधिकरणले काम अगाडी बढाइसकेको बताउनुभयो ।

दि एसिया फाउन्डेसनका प्रदेशका प्रमुख रोशन झाले मिडिया क्षेत्रलाई सामाजिक सञ्जालले प्रभावित गर्ने काम गरेकाले यसप्रति सबै सञ्चार क्षेत्र विचार गर्न आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा धनुषामा कार्यरत राष्ट्रिय तथा स्थानीय सञ्चार माध्यमका प्रतिनिधिहरू सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button