मन्त्रालयबाट प्रवाह हुने सेवाहरूलाई प्रभावकारी बनाउने सचिव राउतको प्रतिबद्धता

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा नयाँ सचिव कृष्ण बहादुर राउतलाई स्वागत गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबार काठमाडौँमा आज आयोजना गरिएको स्वागत तथा शुभकामना कार्यक्रममा सचिव राउतलाई सञ्चार मन्त्रालयका कर्मचारीहरूले स्वागत गर्नुभएको हो ।

स्वागत तथा शुभकामना कार्यक्रममा सचिव राउतले सूचना प्रविधिसँगै मन्त्रालयबाट प्रवाह हुने सेवाहरूलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्रालय मातहतमा रहेका कार्यालयहरूलाई चुस्त र दुरुस्त बनाउने भूमिका रही काम गर्ने र चुनौतीहरूलाई चिर्दै अगाडि बढ्ने समेत उहाँले बताउनुभयो ।
सचिव राउतले सञ्चार मन्त्रालयका कामहरूलाई व्यवस्थित बनाउन र सूचना र सञ्चार प्रविधिमा सबैको पहुँच हुने गरी कामको थालनी गर्ने जानकारी दिनुभयो । उहाँले सबैको साथ सहयोग पाउने विश्वास व्यक्त गर्नुहुँदै सबैसँग समन्वय र सहकार्य गरेर काम गर्ने पनि बताउनुभयो ।

सञ्चार मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सरुवा हुनुभएपछि मन्त्रालयमा नयाँ सचिवमा राउत आउनुभएको हो ।
मन्त्रालयका सहसचिव नेत्र प्रसाद सुवेदी, बाबुराम भण्डारी लगायतको पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्