तपाईँ सुन्दै हुनुहुन्छः

एसइइमा हजुरआमा उमेरका परीक्षार्थीहरू

भक्तपुर । एसइई परीक्षामा सहभागी भन्ने बित्तिकै सामान्यतया १६–१७ वर्षका भन्ने आम धारणा छ । तर भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघरबाट चार–पाँच जना नाती नातिना भएका परीक्षार्थीहरू एसइई परीक्षामा सहभागी हुंदैछन् ।

भनिन्छ ,पढ्नलाई उमेरले रोक्दैन । आस्था महिला विद्यालय शिक्षाबाट बञ्चित महिलाहरूको पढ्ने धोको पुरा गर्न सहयात्री बन्दै आएको छ । मनभित्र चाहना र दृढ अठोट भए जस्तोसुकै काम पनि सफलताका साथ पुरा गर्न सकिन्छ ।

मानिसलाई कतिपय कार्य गर्न उमेरले छेक्छ भन्ने परम्परा छ । वि.सं. २०६५ सालबाट विद्यालय सुरु गरेकोमा हालसम्म दसौँ ब्याचले एसइई दिइसकेका छन् भने अहिले एघारौँ ब्याच शुक्रबारदेखि सुरु हुने एसइइमा सहभागी हुँदै छन् ।

आस्था महिला विद्यालयबाट यसअघि २०७३ सालमा सबै भन्दा बढी उमेरकी ६२ वर्षकी मिठु खनालले एसइई पास गर्नुभएको थियो । त्यसैले पनि यहाँ अध्ययनरत विद्यार्थीहरू हामी पनि उत्तीर्ण हुन सक्छौ भन्ने हिम्मत राखेर अध्ययन गर्ने गरेको बताउँछन् ।

ती मध्येकै एक हुन् ६५ वर्षीया चन्द्र लक्ष्मी श्रेष्ठ । दुई छोरी र एक छोराकी आमा चन्द्र लक्ष्मीका एक छोरा र एक छोरीले अमेरिकाबाट उच्च शिक्षा लिइसकेका छन् । भक्तपुरमै जन्मिएकी चन्द्र लक्ष्मी बाल्यकालमा कहिल्यै स्कुल नटेकेको बताउनुहुन्छ । २२ वर्षको उमेरमा विवाह भएपछि पनि पढ्ने साइत नजुरेकी श्रेष्ठ छोराछोरी पढेर आत्मनिर्भर भएपछि भने विद्यालय जाने समय मिलेको बताउनुहुन्छ ।

‘छोराछोरी हुर्किएर पढिसकेपछि भने बल्ल मेरो पढ्ने रहर पुरा भएको छ ।’ पाँच कक्षादेखि आस्था महिलामा विद्यालयमा अध्ययनरत श्रेष्ठ शुरुका दिनमा विद्यालयमा आउन पनि त्यतिकै गाह्रो भएको स्मरण गर्दै भन्नुहुन्छ ‘बाल्यकालमा पढ्न नपाएका र पढ्दा पढ्दै अध्ययन पुरा गर्न नपाएका महिलाहरूका लागि गठ्ठाघरमै विद्यालय खुलेको सुनेको थिए । तर, यो उमेरमा पढ्न विद्यालय जान्छु भन्न गाह्रो भयो ।’

पढ्न सकिनँ भने झन् छरछिमेकीले गिज्याउँछन् भनेर विभिन्न बहाना गरेर विद्यालय आउने गरेको स्मरण गर्नुहुन्छ ।

एसइइमा राम्रो गर्न सके उच्च शिक्षासम्म पढ्ने रहर ६५ वर्षीया श्रेष्ठमा छ । विद्यालयकी प्रधानाध्यापक बिना देउजाका अनुसार आस्था महिला विद्यालयबाट २०६९ सालदेखि हालसम्म ११ औँ व्याजले एसइई परीक्षामा सहभागिता जनाएका छन् । यसअघि विद्यालयबाट एक सय ३८ जनाले एसएलसी र एसइई परीक्षा उत्तीर्ण गरिसकेका छन् ।

गत वर्ष १० जनाले एसइई दिएकामा यस पटक आस्था महिला स्कुलबाट ९ जनाले एसइई परीक्षामा सहभागिता जनाउँदै छन् । विद्यालयबाट १९ देखि ६५ वर्षसम्मका परीक्षामा सहभागी हुंदैछन् । त्यसरी सहभागी हुनेमा ५५ वर्षीया गोमादेवी बस्नेत, ४८ वर्षीया गोमा गिरी, ४७ वर्षीया लिला भण्डारी, ४३ वर्षीया सविता सम्बाहम्फे, ३५ वर्षीया निशा खनाल लगायत रहेका छन् ।

प्रधानाध्यापक देउजाका अनुसार आर्थिक, घरायसी लगायतका विभिन्न समस्याका कारण समयमा पढ्न नपाएका महिलाहरूलाई पढाउँदै आएको छ आस्था महिला विद्यालयले ।

एसइई परीक्षा दिन हजुरआमा उमेरकी एक विद्यार्थी अमेरिकाबाट नेपाल आउनुभएको छ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघरस्थित आस्था महिला विद्यालयमा अध्ययन गर्दै आएकी ५६ वर्षीया गोमा देवी बस्नेत सोमबार एसइई परीक्षाका लागि अमेरिकाबाट नेपाल आइपुग्नुभएको हो ।

सर्लाही घर भई लामो समयदेखि बालकोटमा बस्दै आएकी बस्नेत कक्षा १० मा पढ्दा पढ्दै नौ महिनाअघि अमेरिका जानुभएको थियो । अमेरिकाको कोलोराडोमा बस्दै आएकी बस्नेत अनलाइन कक्षा र अनलाइनबाट छुट्टै ट्युसन पढेर परीक्षाको तयारी गरेको बताउनुहुन्छ ।

बस्नेतका सबै ५ छोरीले स्नातक उत्तीर्ण गरिसकेका छन् भने सबै भन्दा कान्छो छोरा पनि बि आइटी पढ्दै छन् । छोरा एसइई उत्तीर्ण गरेकै वर्षदेखि फुर्सद महसुस गरेर आफ्नो पढ्ने पुरानो रहर पुरा गर्दै आएको बस्नेत बताउनुहुन्छ ।

बुढेसकालमा पढ्ने रहर कसरी पलायो त भन्ने प्रश्नमा बस्नेत भन्नुहुन्छ,‘पहिलो पटक अमेरिकाको बोस्टनस्थित कलेज टेकेपछि खोइ कसरी मलाई पढ्ने र डिग्री हाँसिल गर्ने इच्छा जाग्यो म त्यस दिनदेखि जुनसुकै हालतमा पढेर कालो टोपी लगाउँछु भन्ने ध्याउन्नमा लागेँ ।’

‘१४ वर्षको उमेरमा बिहे भयो’, उहाँले भन्नुभयो, आमा केही भन्ने जान्दा नजान्दै १५ वर्षको उमेरमै छोरी जन्मिइन् । त्यसपछि क्रमशः चार छोरी र एक छोरा जन्माएँ । अहिले घरमा श्रीमान्, ९७ वर्षकी सासू हुनुहुन्छ ।’

‘८८ वर्षकी मेरी आमाले समेत मलाई पढ्न प्रेरणा दिनुभएको छ । त्यसैले गर्दा छ म बिहान ४ बजेदेखि उठेर पढ्न सकेको छु । अमेरिकामा काममा जाँदा खाजा खाने एक घण्टाको समयमा समेत आधा घण्टा पढ्ने गरेको देखेर मलाई काम लगाउनेहरू नै छक्क पर्छन् ।’

एसइई परीक्षा सकेलगत्तै अमेरिका जाने टिकट लिइसकेकी बस्नेत परीक्षाको नतिजा आएपछि भने प्लस टु र ब्याचलर नेपालमा आएर पढ्ने बताउनुहुन्छ ।

काममा अलिकति फुर्सद मिलेमा पनि युट्युबमार्फत पढ्ने गरेकी बस्नेत आफूले पढेको देखेर अमेरिकीहरू नै दङ्ग परेरै एसइइका लागि बिदा दिए ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button