तपाईँ सुन्दै हुनुहुन्छः

नारायणी अस्पतालमा १५ शय्याको सुविधा सम्पन्न डायलासिस वार्ड सञ्चालन 

वीरगन्ज । नारायणी अस्पतालमा मधेस प्रदेशकै सबैभन्दा बढी क्षमता र सुविधा सम्पन्न डायलासिस वार्ड सञ्चालनमा आएको छ । 

नारायणी अस्पतालमा १५ शय्याको सुविधा सम्पन्न डायलासिस वार्ड आजबाट सञ्चालनमा आएको हो । 

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चित्तरन्जन साहले राउण्ड टेबल नेपालको समन्वयमा सिद्धार्थ बैंकले अस्पतालको आकस्मिक कक्ष माथिको तल्लामा ५५ लाख रुपैयाँको लागतमा निर्माण गरेको नयाँ भवनमा आजबाट सुविधा सम्पन्न १५ शय्याको डायलासिस वार्ड सञ्चालन गरिएको बताउनुभयो । 

यसअघि नारायणी अस्पतालमा ६ शय्याको मात्र डायलासिस सेवा सञ्चालनमा रहेको थियो ।

जसका कारण बिरामीको चाप बढेका बेला हप्ता दिनसम्म पालो कुर्नुपर्ने अवस्था रहेको थियो । 

अब नीजि अस्पतालमा उपचार गराउन नसक्ने गरिब–विपन्न बिरामीहरू भने पालो नपाएर डायलासिस सेवाबाटै बञ्चित हुनुपर्ने बाध्यताको अन्त्य भएको डा.साहले बताउनुभयो । 

१५ शय्याको डायलासिस सेवा विस्तारसँगै अब डायलोसिस गर्न आउने कुनै पनि बिरामीले पालो कुर्न नपर्ने डायलासिस वार्डकी इन्चार्ज एवं अस्पताल नर्सिङ निरीक्षक मनिता साहले बताउनुभयो ।

उहाँका अनुसार, बुधबारदेखि सञ्चालनमा ल्याइएको डायलासिस वार्डमा कूल २२ वटा डायलासिस मेसिन रहेकोमा अहिले १५ वटा जडान गरी सञ्चालनमा ल्याइएको छ भने ब्याकअपको रुपमा ७ वटा मेसिन राखिएको छ । 

अस्पतालले हाल बारा, पर्सा, रौतहट, सर्लाही जिल्लाका ३५ जना मृगौला रोगीलाई नियमित डायलासिस सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button