तपाईँ सुन्दै हुनुहुन्छः

सल्यान दार्माका ३२४ घरमा ‘एक घर एक धारा’ जडान

सल्यान । खानेपानीको अभाव झेलेका दार्मा गाउँपालिका–३ का स्थानीयको लागि लिफ्ट प्रविधिको प्रयोग गरेर एक घर, एक धारा सञ्चालनमा आएको छ । 

पानीका मुहान सुक्दै जाँदा खानेपानीको हाहाकार झेल्दै आएका फारुलाचौरका १४०, दार्मा ५ का ६, मालिकाका ३८ र मलिक्चाका ८० घरधुरीमा घर घर जडान गरिएको छ । 

घरघरमा खानेपानी धारा आएसँगै वर्षौँदेखि खानेपानीको समस्याबाट स्थानीयले मुक्ति पाएका छन् । 

स्थानीयको समस्यालाई मध्यनजर गर्दै दार्मा गाउँपालिकाको एक करोड, नेपाल रेडक्रस सोसाइटीको ३४ लाख ६० हजार र १० लाख बराबरको जनश्रमदान गरी १ करोड ४८ लाख ६० हजारको लागतमा तीन खानेपानी योजना सम्पन्न गरिएको दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताउनुभयो । 

पालिकाको एक घर एक धाराको नीति र स्थानीयलाई स्वच्छ खानेपानीको पहुँचभित्र ल्याउन एकै पटक ३२४ घरमा खानेपानी विस्तार गरिएको उहाँको भनाई छ । 

घण्टौँ हिँडेर कुवा र मूलको पानीको पानी प्रयोग गर्दै आएकोमा अहिले गाउँपालिकाले लिफ्ट प्रविधिबाट खानेपानी आयोजना सञ्चालन गरेर घर घरमा निर्माण भएपछि दैनिक जीवनमा सहजता आएको स्थानीय बिमला रोकायले बताउनुभयो । 

खानेपानी लिन सामुदायिक धारा र कुवामा जानु पर्ने र लाइन लाग्दा घरको दैनिक काममा ढिला हुने गरेको बताउँदै अहिले घर घरमा खानेपानीको धारा निर्माण हुँदा लाइन लाग्नु पर्ने बाध्यताको अन्त्य भएको उहाँको भनाई छ । 

खानेपानीको अभाव झेल्दै आएका स्थानीयका लागि घर घरमा धारामा पानी आउनु स्वर्ग पुगेजस्तै भएको अर्का स्थानीय तोला बुढाथोकीको भनाई छ । अब खानेपानीको लागि गर्नु पर्ने दुःखको अन्त्य भएकोमा खुशी लागेको बुढाथोकीको भनाई छ । उहाँले भन्नु भयो “समयको बचत मात्र भएको छैन, पिउन सरसफाईमा सहजता हुनुका साथै करेसाबारीमा सिचाई समेत हुने गरेको छ ।” सबै मिलेर पानीका मुहान र धारा संरक्षण गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । 

खानेपानीको जोहो गर्नका लागि गाग्री लिएर टाढा रहेको धारासम्म जानु पर्ने बाध्यता हटेको शेर बहादुर सुनारले बताउनुभयो । उहाँले भन्नुभयो “घरघरमै धारा जडान भएर पानी आउन थालेपछि यहाँका बासिन्दालाई लहज र सुविधा भएको छ । आँगनमै पानीको पहुँच पुगे पनि स्थानीयवासी हर्षित भएका छौँ ।” 

प्रतिक्रिया राख्नुहोस्

Back to top button