तपाईँ सुन्दै हुनुहुन्छः

सम्झौता सकिन लाग्दासमेत बनेन फिर्के पुल   

कास्की । पोखरा–बागलुङ राजमार्ग अन्तर्गत जिरो–हरिचोक सडक ६ लेनको बनेको वर्षौं भइसक्यो । तर, सोही सडक खण्डको फिर्केपुल भने २ लेनमै सीमित छ । पुल निर्माणका लागि सम्झौता गरेको ५ वर्ष बितिसक्दा पनि निर्माण हुन सकेको छैन। पहुँचका आधारमा उल्टै पटक पटक म्याद थपिँदै आएको छ । सडक ६ लेन पुल २ लेनको हुँदा दुर्घटना दैनिक रुपमा बढ्दै गएको छ । 

६ लेनको सडकमा २ लेनको पुलबाट ओहोरदोहोर गर्न सावधानी अपनाउन भनेर ‘पुल साँघुरो छ, बिस्तारै जानुहोस्’ लेखिएको बोर्ड राखिएको छ । जिरोकिमीदेखि हरिचोकसम्मको सडक खण्ड स्तरोन्नति गरी ६ लेनको बनाएपछि मोटरसाइकल र गाडीहरूको गति बढेको छ । फिर्के पुलमा आउँदा कतिपयले नियन्त्रण गुमाएर दुर्घटना हुने गरेको स्थानीय गोपाल परियार बताउनु हुन्छ 

उक्त पुल बनाउन साढे ५ वर्षअघि नै सम्झौता भएको थियो ।  २०७७ चैत ३० गतेसम्म पुल निर्माण सक्ने गरी ठेक्का पाएको लक्ष्यशान्ति आरोग्य जेभी सानेपा, ललितपुरले साढे ५ वर्ष बितिसक्दा पनि पुल निर्माण पूरा नगरेको सडक डिभिजन कार्यालय कास्कीका इन्जिनियर शहनशिला कायस्थ बताउनु हुन्छ । 

कुल १२ करोड ३२ लाख २६ हजारको लागतमा निमार्ण हुन लागेको पुल नेपालकै नमुना पुलका रुपमा लिएको छ ।   ‘७५ सालमै निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले म्याद सकिनै लाग्दा अहिले सम्म १६ प्रतिशत काम गरेको छ । महालेखा परीक्षकको कार्यालयले समेत पटक पटक ताकेता गरेको यो पुल निर्माण ढिलाइ हुँदा पैदल यात्रीलाई समेत अप्ठेरो हुने गरेको स्थानीय वाजीद सेख बताउनु हुन्छ । 

पुल निमार्णका लागि २३ घरले मुआब्जा समेत पाएका छन्  । पुल साँघुरो हुँदा दुर्घटना आखै अगाडि देख्दा स्थानीयहरू त्रसित हुन थालेका छन् । 

सम्झौता भएको ५ वर्षसम्म पुलको १६ प्रतिशतमात्र निर्माण भएको छ । साढे २ वर्षमा पुल निर्माण सक्ने गरी सम्झौता भएको पुल ५ वर्ष बितिसक्दा पनि आधा पनि काम हुन सकेको छैन । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button