तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकारका लागि निःशुल्क आँखा चेकजाँच सम्पन्न

सुर्खेत । नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको ६८ औँ स्थापना दिवसको अवसरमा नेपाल नेत्र ज्योति सङ्घसँगको सहकार्यमा आज सुर्खेतका पत्रकारहरूको निःशुल्क आँखा चेकजाँच गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखाको समन्वयमा आयोजना गरिएको निःशुल्क आँखा चेकजाँच शिविरबाट ६० जना सक्रिय पत्रकारहरूले लाभ लिएको स्वास्थ्यकर्मीले दीपेन्द्रप्रसाद सहनीले जानकारी दिनुभयो ।

उहाँले आँखा चेकजाँचका लागि आउनुभएका पत्रकारहरूमा बढी मोबाइल, ल्यापटप, कम्प्युटर जस्ता इलेकट्रोनिक वस्तुहरू चलाउँदा देखापर्ने समस्याहरू देखिएको बताउनुभयो । उहाँका अनुसार आँखामा समस्या देखिएका पत्रकारहरूलाई निःशुल्क औषधि तथा चस्मा वितरण गरिएको थियो ।

शिविर उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य दीपेन्द्र शर्माले पत्रकारहरू बढी समय इलेक्ट्रोनिक सामाग्रीको नजिक रहेर काम गर्नुपर्ने भएकाले समय–समयमा आँखा जाँच गराउन आवश्यक रहेको औँल्याउनुभयो ।

नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखाका अध्यक्ष ललित बसेलले पत्रकारका आँखा स्वस्थ र तन्दुरुस्त भएपछि मात्रै तेस्रो आँखा तेजिलो हुने हुँदा कामसँगै स्वास्थ्यमा समेत ध्यान दिन जोड दिनुभयो ।

कार्यक्रममा नेपाल नेत्र ज्योति संघ अन्तर्गत एकीकृत आँखा तथा कान कार्यक्रमका कर्णाली प्रदेश संयोजक मानबहादुर कुँवरले विद्युतीय सामाग्रीहरूमा बढी बस्नुपर्दा पत्रकारहरूका आँखामा विभिन्न समस्याहरू देखा पर्ने हुँदा थप समस्या नहोस् भनेर शिविरको आयोजना गरिएको बताउनुभयो । उहाँले कर्णालीमा अन्धोपनलाई हटाउन आँखा उपचारका लागि छुट्टै रणनीति बनाएर सङ्घले काम गरिरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button