तपाईँ सुन्दै हुनुहुन्छः

बागमतीका पत्रकारहरूलाई पर्यटन पत्रकारिता तालिम

सिन्धुपाल्चोक । बागमती प्रदेशका १९ पत्रकारलाई पर्यटन पत्रकारिता तालिम प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ वागमती प्रदेशको आयोजनामा सिन्धुपाल्चोक र नुवाकोटको सीमा चिसापानीमा शुक्रबार र शनिबार २ दिने तालिम सञ्चालन गरिएको हो ।

नेपालको आर्थिक स्थिति मजबुत बनाउन पर्यटन क्षेत्र महत्त्वपूर्ण रहेकाले प्रचारप्रसार लगायतबाट यसमा सहयोग पुर्‍याउने उद्देश्यले तालिमको आयोजना गरिएको नेपाल पत्रकार महासङ्घ वागमती प्रदेशका सचिव युवराज पुरीले जानकारी दिनुभयो ।

शनिबार समापन कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले पर्यटकलाई आकर्षण गर्न सके देश विकासले फड्को मार्ने बताउनुभयो । उहाँले पर्यटनका लागि प्रशस्त सम्भावनाका क्षेत्र रहेता पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको बताउँदै त्यसको पहिचान गरी अगाडि बढ्न पत्रकारहरूलाई आग्रह गर्नुभयो ।

बागमती प्रदेशका अध्यक्ष शिव देवकोटाले प्रदेश समितिले पत्रकारका लागि सामाजिक सुरक्षा कोष कार्यक्रम अघि बढाएको जानकारी दिँदै पत्रकारको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम, कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

तालिमले अझै पर्यटन पत्रकारितामा लाग्न प्रेरणा र थप ऊर्जा मिलेको तालिमका सहभागी काभ्रेका ज्योति श्रेष्ठ र चितवनका अपिल अधिकारीले बताउनुभयो ।

तालिमको टिपि भुसाल, अशोक सिलवाल, कुबेर चालिसे लगायतले सहजीकरण गर्नुभएको थियो । तालिमको उद्घाटन शुक्रबार नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button