तपाईँ सुन्दै हुनुहुन्छः

झापामा क्षयरोगीको सङ्ख्या बढ्दो

रोहित काफ्ले झापा । झापामा क्षयरोगीको सङ्ख्या बढेको पाइएको छ ।

विश्व क्षयरोग दिवसको सन्दर्भ पारेर आज भद्रपुरको रेडक्रस भवनमा आयोजित अन्तरक्रियामा प्रस्तुत तथ्याङ्कले झापामा क्षयरोगीको सङ्ख्या बढेको देखाएको हो ।

जिल्ला समन्वय समिति झापाका प्रमुख तथा प्रादेशिक अस्पताल भद्रपुर व्यवस्थापन समितिका अध्यक्ष विश्व बरालको अध्यक्षतामा स्वास्थ्य निर्देशनालय कोशी प्रदेश, स्वास्थ्य कार्यालय झापा, भद्रपुर प्रादेशिक अस्पताल र भद्रपुर नगरपालिकाको स्वास्थ्य शाखाले संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रियामा यस वर्षको ८ महिनाको अवधिमा क्षयरोगका ५८४ जना नयाँ रोगी देखा परेको बताइयो । यो सङ्ख्या गत वर्षको यही अवधिको तुलनामा बढी हो । तथ्याङ्क अनुसार २०० महिला, ३३८ पुरुष, १७ जना बालबालिका र पुनः रोग बल्झिएका १९ जना रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन वीरेन्द्रकुमार दासले बताउनुभयो ।

यस वर्ष जिल्लामा क्षयरोगीको सङ्ख्या २ हजार ३०० पुग्ने अनुमान गरिएको छ । गत वर्ष ११८६ जनामा क्षयरोग देखिएको थियो । गत वर्ष झापामा क्षयरोगबाट १२ जनाको मृत्यु भएको थियो । कूल बिरामीको दुई प्रतिशत मृत्यु हुने गरेको बताइएको छ ।

झापामा प्रत्येक पालिकाको स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा क्षयरोगीको उपचार गर्ने गरी डट क्लिनिक सञ्चालन गरिएको छ । ती क्लिनिकमा निःशुल्क सेवा उपलब्ध छ । जिल्लाभरि ६० वटा डट क्लिनिक सञ्चालनमा रहेका छन् ।

अन्तरक्रियामा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, प्रादेशिक अस्पताल भद्रपुरका मेडिकल सुपरिन्टेन्डेन्ट टङ्कप्रसाद बाराकोटी, फिजिसियन डा. मनिष सुवेदी लगायतको सहभागिता थियो ।

यसैबीच, प्रादेशिक अस्पताल भद्रपुरमा गम्भीर प्रकृतिका क्षयरोगीको समेत उपचार हुने गरी आजदेखि नै डीआर सेन्टर सञ्चालनमा ल्याइएको छ । यसअघि, यस्ता प्रकृतिका रोगीले उपचारका लागि विराटनगर धाउनुपर्ने बाध्यता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button