तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुरामा क्षयरोगको संक्रमण बढ्दै

डडेल्धुरा । डडेल्धुरामा क्षयरोगको संक्रमण बढ्दै गएको छ । विश्व क्षयरोग दिवस २०७९ को उपलक्ष्यमा शुक्रबार जिल्ला सदरमुकाम आयोजित बहु निकाय अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय डडेलधुराले क्षयरोगको संक्रमण बढेको तथ्याङ्क सार्वजनिक गरेको हो ।

आर्थिक वर्ष २०७७/२०७८ मा डडेल्धुरामा एक सय ३१ जना क्षयरोगी थिए भने ०७८/२०७९ मा बढेर एक सय ४० पुगेको छ । ०७९/०८० को हालसम्म ७४ जना क्षयरोगी रहेको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराको तथ्याङ्कमा छ ।

यो आर्थिक वर्षको फागुनसम्म डडेल्धुरामा क्षयरोगका कारण दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयका सरुवा रोग नियन्त्रण फोकल व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिनुभयो । उनका अनुसार अमरगढी नगरपालिकामा ९, परशुराम नगरपालिकामा २१, आलिताल र नवदुर्गा गाउँपालिकामा ११/११, भागेश्वरा गाउँपालिकामा ९, अजयमेरु र गन्यापधुरा गाउँपालिमा ६/६ जना संक्रमित भेटिएका छन् ।

डडेल्धुरामा सङ्क्रमितको पत्ता लगाउनुपर्ने सङ्ख्या ३ सय ३१ रहेको कार्यालय प्रमुख केशर साउदको भनाइ छ । भारतसँग सीमा जोडिएको स्थानीय तहमा यो सङ्ख्या अझ बढी रहेको उनी बताउँछन् ।

यसैगरी दिवसको अवसरमा डडेल्धुरा अस्पतालमा रहेका क्षयरोगका बिरामीहरूलाई फलफूल समेत वितरण गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button