तपाईँ सुन्दै हुनुहुन्छः

कालिञ्चोकमा हिमपात

दोलखा/ दोलखाको कालिञ्चोक क्षेत्रमा सोमवार रातिदेखि हिमपात भइरहेको छ । सोमवार राति  १० बजेबाट हिमपात सुरु भएको कालिञ्चोक कुरीको होटल सुनपातीका सञ्चालक हरि ओलीले बताउनुभयो  । 

कालिञ्चोकमा यो वर्षको तेस्रो हिमपात भएको होटल सञ्चालक ओलीले बताउनुभयो । यो बर्ष पहिलो पटक गत फागुन १३ गते दिउँसो केही घण्टा हिमपात भएको थियो । दोस्रो पटक चैत्र ४ गते दिउँसो हिमपात भएको कालिञ्चोक कुरीका स्थानीय होटल व्यवसायीहरूले बताउनुभयो । 

तीन हजार आठ सय ४२ मिटर उँचाइमा रहेको कालिञ्चोकमा हरेक बर्ष पुसदेखि फागुन चैत्रसम्म हिमपात हुने गरेको थियो । यो बर्ष भने फागुन दोस्रो हप्ताबाट मात्र हिमपात सुरु भएको हो । राति हिमपात सुरु भएपछि पर्यटकहरू चिसोको पर्बाह नगरी हिउँसँग रमाएको स्थानीय होटल व्यवसायीहरू बताउँछन् । 

धार्मिक एवं सांस्कृतिक महत्त्वको कालिञ्चोक प्राकृतिक सुन्दरताको लागि समेत प्रसिद्ध छ । कालिञ्चोक भगवती मन्दिर परिसरमा जलकुण्डसमेत रहेको छ । यहाँको मुख्य विशेषता यही जलकुण्ड हो । कालिञ्चोक टाकुरामा अवस्थित जलकुण्डमा कतैबाट पानी आउने ठाउँ देखिँदैन तर जलकुण्डको पानी हरेक मौसममा कायम रहन्छ । किंवदन्ती अनुसार जलकुण्डबाट दाहिने तिर तामाको धारा भएर तामाकोसी बगेको र देब्रेतिर सुनको धारा भएर सुनकोसी बगेको छ । 

कालिञ्चोक मन्दिर परिसरमा हिमालय पर्वतकी पुत्री पार्वतीले तपस्या गरेको र महादेव पार्वतीको वासस्थान भएको जनविश्वास समेत रहँदै आएको छ । कालिञ्चोक क्षेत्रमा भेडागोठहरु रहेको र कालिञ्चोक मन्दिरमा सबै भेडाहरू जम्मा भएर बस्ने तथा ढुङ्गा चाट्ने गरेपछि जलकुण्ड देखिएको किंवदन्तीसमेत प्रचलनमा रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button