तपाईँ सुन्दै हुनुहुन्छः

गणतन्त्रको गौरव बढाउन स्थानीय तहकाे भूमिका प्रशंसनीय : प्रधानमन्त्री प्रचण्ड

फाइल तस्वीर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध र जनआन्दोलनको बलमा स्थापित भएको संघीय लोकतान्त्रिक गणतन्त्रपछि बनेको नयाँ संविधानले राज्यको अग्रगामी पुनर्संरचनासहितको अधिकारलाई व्यवस्थित ढंगबाट बाँडफाँट गरेको बताउनुभएको छ ।

नेपाल नगरपालिका संघको ३०औँ स्थापना दिवसका अवसरमा आज काठमाडाैंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले अग्रगामी पुनर्संरचनासहितको अधिकारलाई व्यवस्थित ढंगबाट बाँडफाँट गरेको हुँदा त्यसको ठीक ढंगबाट प्रयोग गर्न सके नेपालको संघीय प्रणाली विश्वमै उदाहरणीय बन्न सक्ने बताउनुभयो ।

स्थानीय, प्रदेश र संघीय गरी तीनै तहमा अन्तरसम्बन्ध हुन आवश्यक रहेको उहाँले बताउनुभयो । नेपाली जनताको ठूलो त्याग र बलिदानबाट नयाँ संविधान निर्माण भएकोले परिर्वतन र सामाजिक रुपान्तरणको मुद्दा संस्थागत हुन सकेको प्रधानमन्त्रीले बताउनुभयो ।

उहाँले संविधानले परिकल्पना गरेबमोजिम संघीय ऐनहरू निर्माण हुने क्रम जारी रहेको बताउनुभयो । सरकारले संघीय निजामती र संघीय शिक्षा ऐन निर्माण गर्न सक्रियताका साथ काम गरिरहेको पनि उहाँले जानकारी दिनुभयो ।

सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भूमिका अपरिहार्य रहेको बताउनुहुँदै प्रधानमन्त्री प्रचण्डले गणतन्त्रको गौरव बढाउन स्थानीय तहले खेलेको भूमिका अनुकरणीय र प्रशंसनीय रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button