तपाईँ सुन्दै हुनुहुन्छः

दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन काठमाडौंमा सुरु

काठमाडौं । दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ । दुई दिने सम्मेलनको शुक्रबारको सत्रमा बोल्दै अर्थशास्त्रीहरूले आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा रूपान्तरण गर्ने गरी व्यवहारिक र कार्यान्वयन योग्य योजना तथा कार्यक्रम ल्याउन आवश्यक भएकोमा जोड दिनुभयो ।

राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले आयोजना गरेको सम्मेलनमा अर्थशास्त्रीहरूले मुलुक आर्थिक समस्यामा रहेको अवस्थामा यसलाई अवसरको रूपमा प्रयोग गर्दै आत्मनिर्भर अर्थतन्त्रको मार्गमा अघि बढ्ने गरी योजना तथा बजेट तर्जुमालाई व्यवहारिक बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुक आर्थिक समस्यामा पर्न लागेको वर्तमान अवस्थामा अर्थशास्त्रीहरूले अर्थतन्त्रलाई समग्रतामा हेरी राजनीतिज्ञहरूलाई आवश्यक सुझाव दिनुपर्ने बताउनुभयो ।

उहाँले चोरी पैठारी नियन्त्रण नगरेसम्म कतिपय उत्पादनशील उद्योगहरू पनि समस्यामा परेको भन्दै अर्थतन्त्रका समस्याहरूको ठीक ढंगले पहिचान गरी उपयुक्त उपचारको विधि अबलम्बन गर्नु आवश्यक भएको बताउनुभयो ।

उहाँले राजनीतिज्ञहरूले सोच्ने र निर्णय गर्ने तरिकाहरू आर्थिक रूपले समवेदनशील हुन नसकेका हुन् कि भन्दै त्यस सन्दर्भमा अर्थशास्त्रीहरूले राजनीतिज्ञहरूलाई प्रेरित र शिक्षित गर्ने काम गर्नु आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा अर्थशास्त्री डा विजय पौडेलले उत्पादन नबढाउने र रोजगारी वृद्धि नगर्ने योजना तथा कार्यक्रमहरूलाई कटौती गर्न र बजेट खर्च प्रणालीलाई पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाँलले नेपालको आफ्नो सामर्थ्य र स्रोतको समुचित प्रयोग गर्नु अहिलेको आवश्यकता हो भन्दै आयातमुखी अर्थतन्त्र नै रहेको अवस्था भएकोले आयात व्यवस्थापन गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समयमा बाह्य क्षेत्र, रेमिटेन्स, तरलताको अवस्थामा सुधार भएको तर वित्तीय साक्षरताका कार्यक्रमहरू देशव्यपी रूपमा मिहिन ढंगले सञ्चालन गर्न नसकिएको बताउनुभयो ।

कार्यक्रममा त्रिविका शिक्षाध्यक्ष शिवलाल भुषाल, सहकारी महासङ्घका अध्यक्ष मिनराज कँडेल, उद्योगी कृष्ण आचार्य लगायतले मुलुकको वर्तमान आर्थिक अवस्थाका बारेमा चर्चा गर्दै सम्मेलनले सरकारलाई उपयुक्त सुझाव दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button