तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा आगलागीमा परि एककाे मृत्यु,घर जलेर खरानी

जुम्ला । जुम्ला चन्दननाथ नगरपालिका वडा नं. १ ठिन्के स्थित एक घरमा आगलागी हुँदा जलेर एकजनाकाे मृत्यु भएको छ । चन्दननाथ १ निवासी लाेक बहादुर भण्डारीको घरमा गएराती ११ बजे आगलागी हुँदा भण्डारीकै छोरी अन्दाजी १४ वर्षीय बन्दना भण्डारीको जलेर मृत्यु भएको प्रहरी निरीक्षक याम बहादुर बुढामगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार तीन तले घर भने जलेर पूर्ण खरानी भएको छ । मृतक बन्दना भण्डारी तेस्रो तलामा भएको र आगो नियन्त्रण बाहिर हुँदा बचाउन सकिएन ।

प्रहरी निरीक्षक बुढामगर भन्नुभयो,”घरमा रहेका ८ जना रहेछन् । आगलागी हुने बित्तिकै सबै बाहिर निस्किएको र छोरी बन्दना तेस्रो तलामा भएपछि आगो नियन्त्रण बाहिर हुँदा प्रहरीले हरप्रयास गर्दा पनि बचाउन उद्धार गर्न सकिएन । अन्य ७ जना परिवार भन सकुशल छन् । नगरपालिकाको दमकल पुगेपछि करिब ३/४ घण्टापछि आगलागी नियन्त्रणमा आयो ।”

आगलागीको तथ्य कारण नखुलेको प्रहरीको भनाई छ । यद्यपि,सधैँ ग्याँस प्रयोग गर्ने भण्डारी परिवारले गएराति ग्याँस सकिँदा चुलोमा आगो बालेको बुझिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तीन तले घर जलेर पुर्णरुपमा नष्ट भएपनि क्षतिको एकिन विवरण आउन बाँकी छ । मृतक बन्दनाकाे शवलाई पाेष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ ।

आगलागी भएको खबर पाउने बित्तिकै दमकल लिएर घटनास्थलमा पुगी आगो नियन्त्रण गरिएको चन्दननाथ नगरपालिका विपद् व्यवस्थापन शाखा प्रमुख लक्ष्मीचन्द्र न्यौपानेले बत्ताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button