तपाईँ सुन्दै हुनुहुन्छः

सांसद चौधरीको मुद्दामा उच्च अदालतको कारण देखाऊ आदेश

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका सचेतक तथा प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीको रिटमा उच्च अदालत दिपायलले आज कारण देखाऊ आदेश जारी गरेको छ । 

उच्च अदालतका दिपायल राजपुरका सूचना अधिकारी नरबहादुर नेगीका अनुसार चौधरीले दायर गर्नुभएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै उच्च अदालतले कारण देखाऊ आदेश मात्र जारी गरेको हो । चौधरीले जिल्ला अदालत कैलालीले गरेको फैसलाबारे जानकारी नभएका कारण आफ्नो मुद्दामा दिएको म्याद बदर गरी थुनामुक्त गर्न माग गर्दै रिट दायर गरेका गर्नुभएको थियो ।

उच्च अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको एकल इजलासले अन्तरिम आदेश नदिएर जिल्ला अदालत, जिल्ला सरकारी वकिलको कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीका नाममा कारण देखाऊ आदेश मात्र जारी गरेको सूचना अधिकारी नेगीले बताउनुभयो । उहाँका अनुसार चौधरीको मुद्दामा अन्तरिम आदेश जारी गर्नुनपर्ने कारण वा प्रमाण भए १५ दिनभित्र अदालतमा उपस्थित हुन आदेश गरिएको छ । उक्त मुद्दाका वादी र प्रतिवादी दुवै पक्षसँगको छलफलपछि अन्तरिम आदेश सम्बन्धमा निर्णय गर्न सकिने छ । त्यसका लागि माघ २९ गते अर्को पेशी तोकिएको छ । 

१३ वर्ष अघिको आगजनी मुद्दामा सांसद चौधरीसहितका तीन जनालाई जिल्ला अदालत कैलालीले ६ महिना कैद र रु आठ लाख बढी क्षतिपूर्ति तिर्न आदेश दिएको थियो । सोही मुद्दामा प्रहरीले चौधरीलाई केही दिनअघि बाँकेबाट पक्राउ गरेको थियो । चौधरी हाल कैलाली कारागारमा थुनामा छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button