तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लाका आठै पालिका वैशाखभित्र पूर्ण खोप घोषणा हुने

जुम्ला । जुम्लाका एक नगरपालिकासहित सात गाउँपालिकालाई आगामी वैशाखभित्र पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिने भएको छ । आगामी २०८० वैशाखभित्र आठै पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिने कार्ययोजना तयार भएको हो ।

जुम्लामा सोमबार जनस्वास्थ्य कार्यालयद्वारा आयोजित ‘जिल्लास्तरीय पूर्ण खोप कार्यक्रमको समीक्षा तथा पूर्ण खोप दिगोपनाको कार्ययोजना गोष्ठी’ मा सहभागी आठै पालिकाका प्रमुख उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखा संयोजकले वैशाखभित्रै पूर्ण खोप पालिका घोषणा गर्ने कार्ययोजनामा लिखित प्रतिबद्धता गरेका छन् ।

जुम्ला पूर्ण खोप जिल्ला घोषणा भइसके पनि राष्ट्रिय खोप कार्यक्रम अनुसार हरेक वर्ष १५ महिनामुनिका लक्षित सबै बालबालिका सबै प्रकारका खोप लगाएको सुनिश्चित गर्नुपर्ने प्रावधान छ । सोही अनुसार जुम्लाका आठै पालिकाले वैशाखभित्र पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्ने तयारी गरेका हुन् ।

जस अन्तर्गत आगामी वैशाख १६ गते चन्दननाथ नगरपालिकालाई पूर्ण खोप पालिका घोषण गर्ने कार्ययोजना तयारी भएको छ । तातोपानी गाउँपालिकालाई वैशाख १३ गते, तिला गाउँपालिकालाई १५ गते, हिमा गाउँपालिकालाई १४ गते, सिञ्जा गाउँपालिकालाई ८ गते पुर्णखोप सुनिश्चित पालिका घोषणा गरिने कार्ययोजना तयार भएको जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताउनुभयो ।

उहाँका अनुसार कनकासुन्दरी गाउँपालिका वैशाख २४ गते, गुठिचौर गाउँपालिका २० गते र पातारासी गाउँपालिका ७ गते गरी आठै पालिका वैशाखभित्र पुर्णखोप सुनिश्चित पालिका घोषणा हुने छन् ।

जन्मेदेखि १५ महिना मुनिका लक्षित सबै बालबालिकाले अनिवार्य रुपमा लगाउनु पर्ने, ‘बिसीजी, रोटा, पोलियो, एफआईपिभी, पीसीभी, डीपीटी, हेपविहिब, दादुरा, जेई, टाइफाइड’ गरी करिब एक दर्जन खोप लगाएको प्रमाणित भएपछि मात्रै वडा हुँदै पालिकाहरू पुर्णखोप सुनिश्चित पालिका घोषणा हुने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button