तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा राष्ट्रपति रिनङ शिल्ड प्रतियोगिताको रौनक

अछाम । अछामका विभिन्न स्थानीय तहमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताहरू शुरु भएका छन् ।

विद्यार्थीहरूलाई विद्यालय स्तरबाटै खेलकुदमा अग्रसर गराउने उद्देश्यले विभिन्न पालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु गरेका हुन् ।

विद्यार्थीहरूको खेल प्रतिभाको विकास, प्रवर्द्धन र विस्तार गर्नको लागि प्रतियोगिता शुरु गरिएका र विद्यालयबाट छनौट गरिएका विद्यार्थीलाई पालिका, जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरसम्म छनौट गर्न प्रतियोगिता गरिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष केशर खड्काले बताउनुभयो ।

जिल्लाका तुर्माखाँद, बान्नीगढी जयगढ, मेल्लेख, साँफेबगर लगायतका स्थानीय तहमा पालिका स्तरको प्रतियोगिता शुरु भएका छन् भने अन्य पालिकाले यही महिनाभित्र प्रतियोगिता सञ्चालन गर्ने गरी तयारी गरिरहेका छन् ।

जिल्लाको तुर्माखाँद गाउँपालिकामा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष डम्बर बिसीले खेल क्षेत्रको विकास र खेलाडीको प्रतिभा प्रस्फुटनमा पालिका सधैँ अग्रसर रहने बताउनुभयो ।

उहाँले खेल अनुशासन, टिम भावना, राष्ट्रियता प्रवर्द्धनमा सहयोगी हुने भएकोले यसको मर्म अनुसार अग्रसर हुन खेलाडीलाई आग्रह गर्नुभयो ।

गाउँपालिकाका उपाध्यक्ष बिमला शाहीले निरन्तर अभ्यास, रुचि अनुसारको खेल छनौट तथा उचित वातावरण निर्माणमा सबै सरोकारवाला लाग्नुपर्ने बताउनुभयो ।

त्यस्तै, बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष टेक बहादुर साउँद तथा उपाध्यक्ष बिन्दु रावलले खेल क्षेत्र देशलाई अन्तर्राष्ट्रिय रुपमा समेत चिनाउने माध्यम भएकोले यसको विकासमा विद्यालय क्षेत्रदेखि नै सबै अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

यसैगरी, साँफेबगरमा मेयर कप भलिबल प्रतियोगिता समेत जारी छ । भलिबल खेलाडी र खेल प्रेमीलाई लक्षित गरिएको प्रतियोगितामा रोचक खेलहरू भइरहेका साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्र बहादुर कुँवरले बताउनुभयो ।

जिल्लाको मङ्गलसेन नगरपालिकामा माघ २१ गतेबाट प्रतियोगिता शुरु गर्ने गरि तयारी भएको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख जगत बहादुर रावलले बताउनुभयो ।

प्रतियोगितामा विभिन्न मिटर समूहमा दौड, हाई जम्प, लङजम्प, भलिबल, भाला फ्याँक्ने, शटपुट, कराँते लगायतका विधामा प्रतिस्पर्धा हुने षोडशादेवि माविका खेल शिक्षक तपेन्द्र स्वारले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button