तपाईँ सुन्दै हुनुहुन्छः

आफ्नै ‘पालिका गान र लोगो’ बनाउँदै तातोपानी गाउँपालिका

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले आफ्नो पालिका ‘गान र लोगो’ बनाउने भएको छ । पर्यटकीय क्षेत्रको प्रवर्द्धन, पालिको आफ्नो छुट्टै पहिचान झल्किने उद्देश्यका साथ आफ्नै पालिका ‘गान र लोगो’ बनाउन लागेको हो ।

तातोपानी गाउँ कार्यपालिकाको माघ १६ गतेको निर्णयअनुसार प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, तथा विशिष्ट भौगोलिक पहिचान झल्किने गरी पालिका गान र लोगो बनाउन लागिएको तातोपानीका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताउनुभयो ।

उहाँले भन्नुभयो, “लोगो र गान बनाउनका लागि एक महिने सार्वजनिक सूचना जारी भएको छ । पालिकाको प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व झल्काउने गरी लोगो र ४० देखि ६० शब्दमा पालिका गान बनाउनु पर्ने छ । पालिकाको पत्रमा राष्ट्रिय निशान छाप एकातिर र अर्कोतिर पालिकाको आफ्नै लोगो राखिने छ ।”

गाउँपालिकाका विभिन्न कार्यक्रममा राष्ट्रिय गान पश्चात् पालिका गान बजाइने छ । खुला प्रतिस्पर्धात्मक विधिबाट पालिका गीत र लोगो निर्माणका लागि इच्छुक व्यक्ति वा संस्थालाई विभिन्न ११ शर्तको अधिनमा रही दरखास्त दिन सूचना जारी गरिएको तातोपानीका प्रमुख प्रशासकीय अधिकृत तीर्थ कठायतले बताउनुभयो ।

उहाँका अनुसार छनोट भएको उत्कृष्ट लोगो डिजाइनकर्तालाई नगद ३० हजारसहित प्रमाणपत्र र उत्कृष्ट पालिका गान रचनाकारलाई नगद २० हजारसहित कदर पत्र वितरण गरिने छ । लोगोमा प्रयोग भएका सङ्केतहरूको बारेमा डिजाइनरले संक्षिप्त व्याख्या समेत गर्नुपर्ने शर्त तोकिएको छ ।

जुम्लाका आठ पालिकामध्ये आफ्नै पालिका गान र लोगो बनाउने तातोपानी पहिलो पालिका बनेको छ । पालिकाको पर्यटन, प्रवर्द्धन तथा ऐतिहासिकता जोगाउन आफ्नै लोगो र गान कोशेढुंगा सावित हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button